हेमा भट्ट, २८ भदौ
कैलाली – जेन–जी आन्दोलनको क्रममा धम्की र दवावका कारण राजीनामा दिन बाध्य भएका कैलारी गाउँपालिका अध्यक्ष राज चौधरीले आफ्नो राजीनामा फिर्ता लिने घोषणा गरेका छन्।
गत भदौ २३ र २४ गते भएको आन्दोलनकै क्रममा चौधरीको घरमा तोडफोड र आगजनीसमेत भएको थियो। त्यस क्रममा उनलाई गाउँपालिका अध्यक्ष र पार्टीको साधारण सदस्य पदबाट राजीनामा दिन दबाब मात्र होइन, ज्यान मार्ने धम्कीसमेत आएको चौधरीले बताएका छन्। सोही कारण उनले सामाजिक सञ्जालमार्फत २४ भदौमा तत्कालीन राजीनामा घोषणा गरेका थिए।
तर सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण र गाउँपालिकाको नियमित कार्य सञ्चालनलाई ध्यानमा राख्दै स्थानीय बासिन्दा, गाउँसभा सदस्य र राजनीतिक दलहरूको आग्रहपछि उनले आज (२८ भदौ) राजीनामा फिर्ता लिएको सार्वजनिक गरेका छन्।
गाउँपालिकाका नियमित कामकाज अघि बढाउन सबै कैलारीबासी दाजुभाइ, दिदीबहिनी तथा सरोकारवालाहरूको सहयोग र समन्वय अपेक्षा गर्दछु,अध्यक्ष चौधरीले विज्ञप्तिमा उल्लेख गरेका छन्।