रैकवार विचवामा जनउत्थान सामुदायिक लघुवित्तद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

हेमा भट्ट, भदौ ३०
कञ्चनपुर – वातावरण संरक्षण, हरियाली विस्तार र भविष्यका पुस्ताका लागि स्वच्छ जीवनशैली सुनिश्चित गर्ने उद्देश्यका साथ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय रैकवार विचवाले आइतबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।


कलुवापुरस्थित राम जानकी मन्दिर परिसर र चमन चौराहा बजार वरपर विभिन्न प्रजातिका फलफूल, छायादार तथा सजावटी बोटबिरुवा रोपिएको थियो। स्थानीय समुदाय, विद्यार्थी, महिला समूह, अगुवा नागरिक र लघुवित्त संस्थाका कर्मचारीहरूको उत्साहजनक सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रमकी प्रमुख अतिथि गीता पुजारीले वृक्षरोपणलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो,

> आज हामीले रोपेका बिरुवाहरू भविष्यमा छायाँ दिने र हावापानी शुद्ध गर्ने अमूल्य सम्पत्ति बन्नेछन्। वातावरणीय संकट बढिरहेको अवस्थामा यस्ता पहल समाजकै लागि जीवनदायी हुन्छन्।

त्यसैगरी कार्यक्रमका सभापति नरेश बहादुर भुलले संस्थाले चालेका सामाजिक उत्तरदायित्वसहितका गतिविधिहरू समाज र वातावरण दुवैका लागि दीर्घकालीन लाभकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, सामुदायिक संस्थाले वित्तीय सेवा मात्र नभई वातावरणीय र सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्नुपर्छ भन्ने सोचका साथ यस्तो कार्यक्रमलाई निरन्तरता दिइएको हो।

कार्यक्रममा समाजसेवी, विद्यार्थी, महिला समूहका सदस्य, स्थानीय नागरिक अगुवा तथा लघुवित्त संस्थाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले वृक्षरोपणलाई केवल प्रतीकात्मक नभई भविष्यमा स्वच्छ हावा, सुरक्षित वातावरण र सुन्दर नगर निर्माणको आधारको रूपमा लिनुपर्ने धारणा राखे।

सचिव राम अवतार रानाको संयोजन र मिना कुमारी आलेको संचालनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा बिरुवाहरू रोपेर संरक्षणको प्रतिबद्धता जनाए।

स्थानियहरूले संस्थाको कदमलाई धन्यवाद दिँदै, यो अभियानले भविष्यमा वातावरण संरक्षण, जलवायु सन्तुलन र सुन्दर नगर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणमा स्थानीय समुदाय आफैँ अग्रसर हुने प्रतिबद्धता जनाएका थिए।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी दिनमा पनि सामुदायिक विकास, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

संस्थाका प्रतिनिधिहरूका अनुसार, भविष्यमा विद्यालय क्षेत्रमा हरियाली अभियान, सडक छेउछाउमा वृक्षरोपण र सामुदायिक पार्कहरू निर्माणमा समेत सहयोग गर्ने योजना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply