खेमराज भट्ट, भाद्र ३१
काठमाडौँ – देश र जनताको सुरक्षा गर्न आफ्नो प्राण अर्पण गरेका प्रहरीहरूलाई स्मरण गर्दै नेपाल प्रहरीले भावुक निर्णय गरेको छ। आन्दोलनको क्रममा कर्तव्यपालनकै क्रममा २०८२ साल भदौ २३ र २४ गते वीरगति प्राप्त गरेका प्रहरी शहीदका परिवारलाई दश–दश लाख रुपैयाँ सहयोग उपलब्ध गराइने भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको एक दिनको तलब कट्टा गरी सो रकम संकलन गर्ने निर्णय भएको छ। संकलित रकम शहीदका परिवारलाई प्रदान गरिने जनाइएको छ।
प्रहरी प्रवक्ता नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार, “प्रत्येक शहीद प्रहरी परिवारलाई रु. १०,००,००० (अक्षरुपी दश लाख मात्र) उपलब्ध गराइनेछ। यो रकमले परिवारलाई तत्कालीन आर्थिक राहत मात्र हैन, संस्थागत सम्मान र कर्तव्य निष्ठा प्रति कदरको प्रतीक पनि हो।”
यस निर्णयले प्रहरी संगठनभित्र मात्र हैन, सम्पूर्ण राष्ट्रकै आँखा रसाएको छ। आन्दोलनका दिन आम नागरिकको सुरक्षाका लागि ज्यानको पर्वाह नगरी खटिएका प्रहरी जवानहरू आज परिवारको काखमा फर्कन सकेका छैनन्। तर, उनीहरूको साहस, समर्पण र राष्ट्रप्रति अटुट प्रेमलाई यो सहयोगले कहिल्यै मेट्न नसकिने अमिट इतिहासमा अंकित बनाउनेछ।
शोकाकुल परिवारमा एकातिर अपूरणीय क्षतिको पीडा छ भने अर्कातिर संस्थाबाट प्राप्त भएको यो आर्थिक सहयोगले आत्मीय सहारा र सान्त्वना दिएको छ। प्रहरी परिवारका सदस्यहरूले आँसु झार्दै भनेका छन् – “हामीले हाम्रो प्रियजन गुमायौं, तर उनीहरूले राष्ट्रको लागि बलिदान दिए। प्रहरी संगठनले दिएको यो सहानुभूति र सम्मानले हामीलाई एक्लो छोरेन।”
देशका विभिन्न भागमा शहीद प्रहरीहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ। वीर प्रहरीहरूको अनुकरणीय साहस र त्यागले आज हरेक नेपालीलाई गहिरो भावनात्मक रूपमा छोएको छ।
नेपाल प्रहरीको यो निर्णयले प्रमाणित गरिदिएको छ—कर्तव्यपालनमा ज्यान गुमाउने प्रहरीहरू केवल संगठनका मात्र नभई सम्पूर्ण राष्ट्रकै “अमर प्रहरी” हुन्। उनीहरूको बलिदान सधैं जीवित रहिरहनेछ, र राष्ट्रले कहिल्यै बिर्सिने छैन।