काठमाडौं नेशनल स्कूलको ४६ औँ अभिभावक दिवस: सुरक्षा, विकास र शिक्षाको सशक्त सन्देश

खेमराज भट्ट
काठमाडौं -पुरानो बानेश्वरस्थित काठमाडौं नेशनल स्कूलले आफ्नो ४६ औँ वार्षिक अभिभावक दिवस–२०८२ अत्यन्त भव्य, सुसंस्कृत र सन्देशमूलक वातावरणमा सम्पन्न गरेको छ। भृकुटीमण्डप अवस्थित नेपाल पुलिस क्लवको सभा हलमा “प्रेमका जरा मार्फत सपनाका पखेटा उभार गर्न सकिन्छ” भन्ने मूल भाव सहित आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै शिक्षा, सुरक्षा र सहकार्यको सन्तुलित सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीज्यूले दीप प्रज्वलन गर्दै गर्नुभएको थियो भने सभापतित्व विद्यालयको कार्यकारी अध्यक्ष तथा संस्थापक श्री अर्जुन कुमार खड्काज्यूले गर्नुभएको थियो। कार्यक्रममा महानिरीक्षक (आईजीपी) विशेष उपस्थितिले सुरक्षा सचेतना र अनुशासनको महत्वलाई अझ बलियो सन्देश दिएको थियो।

यसैगरी प्रतिनिधि सभा सदस्य , पूर्व मन्त्री, स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका अगुवा तथा विभिन्न सामाजिक–सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभिभावक-विद्यालय सहकार्य: भविष्य निर्माणको आधार प्रमुख अतिथि कार्कीले आफ्नो मन्तव्यमा विद्यालय र अभिभावकबीचको सहकार्य बालबालिकाको सर्वाङ्गीण विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।
“सुरक्षा, विकास र शिक्षा”: कार्यक्रमको केन्द्रीय सन्देश
कार्यक्रमको विशेष आकर्षणमध्ये एक महत्वपूर्ण पक्ष भनेको सुरक्षा, विकास र शिक्षा बीचको सम्बन्धलाई स्पष्ट रूपमा प्रस्तुत गर्नु थियो। विद्यालयले अभिभावक विकास साझेदारी अवधारणालाई जोड दिँदै शिक्षा केवल किताबमा सीमित नभई जीवन उपयोगी ज्ञान, अनुशासन र सुरक्षा चेतनासँग जोडिएको हुनुपर्ने सन्देश दिएको थियो। आईजीपीको उपस्थितिमार्फत विद्यार्थीहरूलाई जीवनमा सबैभन्दा आवश्यक तत्व ‘सुरक्षा’ हो भन्ने व्यवहारिक शिक्षा दिइएको थियो।

विद्यालय प्रशासनका अनुसार, “सुरक्षाले विकासको आधार तयार गर्छ, विकासले भविष्य निर्माण गर्छ, र शिक्षाले पुस्ताहरूलाई सक्षम बनाउँछ र यी तीनैको समन्वयले समृद्ध, सक्षम र दिगो समाज निर्माण हुन्छ । तसर्थ हामी सबैले बुझ्न आवश्यक कि शिक्षा बिना भविष्य अधुरो हुन्छ भने सुरक्षा बिना जीवन नै असुरक्षित हुन्छ । संयोगवश सुरक्षाको आधारः प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीज्यू, विकास गतिको आधार प्रदेश सांसदद्वय श्री दिपेन्द्र श्रेष्ठज्यू र श्री सुरज चन्द्र लामिछानेज्यू , स्थानिय सरकार प्रतिनिधि श्री सरोज ढकालज्यू र श्री अशोक के.सी.ज्यू र शिक्षाको आधार प्राज्ञिक श्री राजु मल्लज्यूको को आतिथ्यतामा यस कार्यक्रम सम्पन्न गरिएको थियो ।
सांस्कृतिक प्रस्तुति: प्रतिभा र पहिचानको उत्सव
कार्यक्रमको सांस्कृतिक सत्रले सबैको मन जित्यो। कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले तामाङ सेलो, साकेला, कौडा, आधुनिक नृत्य, गीत, राइम्स, नाटक तथा एकाङ्की प्रस्तुत गरी हललाई ऊर्जा र उत्साहले भरिपूर्ण बनाए। विशेष गरी प्रस्तुत गरिएको ‘नालापानी’ गीतिनाटकले नेपाली इतिहासको वीरता, देशभक्ति र त्यागको सन्देश प्रभावकारी रूपमा प्रस्तुत गर्‍यो

तेक्वान्दो प्रदर्शन र अर्चेस्ट्रा कार्यक्रमले विद्यार्थीहरूको अनुशासन, आत्मविश्वास र सिर्जनशीलता झल्काएको थियो। प्रत्येक प्रस्तुति उनीहरूको मेहनत, समर्पण र प्रतिभाको जीवन्त उदाहरण बनेको देखिन्थ्यो।
शिक्षा: जीवनको आधार, भविष्यको मार्गदर्शक
कार्यक्रमले स्पष्ट सन्देश दियो-जीवनमा सबैभन्दा आवश्यक शिक्षा नै हो, जसले व्यक्तित्व निर्माण मात्र होइन, सुरक्षित र सफल भविष्यको मार्ग देखाउँछ। विद्यालयले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञान मात्र नभई नैतिक मूल्य, सामाजिक जिम्मेवारी र आत्मअनुशासनमा समेत सशक्त बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ।
समग्र मूल्याङ्कन-अभिभावक दिवस केवल औपचारिक कार्यक्रम नभई विद्यार्थीको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि र विद्यालय-अभिभावक साझेदारी सुदृढ गर्ने सशक्त मञ्च बनेको देखियो। उपस्थित अभिभावक तथा अतिथिहरूले विद्यालयको व्यवस्थापन, कार्यक्रमको स्तर र विद्यार्थीहरूको प्रस्तुति प्रति खुलेर प्रशंसा गरेका थिए।

कार्यक्रमको अन्त्यमा संस्थापक प्रिन्सिपल अन्जु थापाले भावुक हुँदै भनिन्-“बालबालिकाको हाँसो, अभिभावकको सन्तुष्टि र शिक्षकको गर्व”-यही हाम्रो लक्ष्य हो। समग्रमा, काठमाडौं नेशनल स्कूलको ४६औँ अभिभावक दिवस प्रेम, प्रेरणा, सुरक्षा, विकास र शिक्षाको अनुपम संगमका रूपमा स्थापित हुँदै भविष्यका कर्णधारहरूलाई सही दिशा, मूल्य र संस्कारसहित अघि बढ्न प्रेरित गर्ने सफल उदाहरण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply