खेमराज भट्ट, जेठ ६
काठमाडौं उपत्यकाको बढ्दो सवारी चापलाई व्यवस्थित गर्दै सुरक्षित, सहज र नागरिकमैत्री ट्राफिक सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गरेका रामशाहपथमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) शाह “२०८३ साल बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” (TRAFFIC POLICE OF THE MONTH) घोषित भएका छन्।
उच्च मनोबल, व्यवसायिक दक्षता, कर्तव्यनिष्ठा र अनुशासित कार्यशैलीका कारण डीएसपी शाहलाई उक्त सम्मान प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। विभागीय मूल्य-मान्यता र आदेश–निर्देशनलाई पूर्ण पालना गर्दै उनले ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षामा प्रभावकारी नेतृत्व देखाएका थिए।
विशेषगरी काठमाडौं उपत्यकाको व्यस्त सडकमा बढ्दो सवारी चाप व्यवस्थापन, ट्राफिक सचेतना अभियान सञ्चालन, नियम कार्यान्वयन तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउने कार्यमा उनले सक्रियता देखाएका कारण उनी सबैको प्रशंसाका पात्र बनेका छन्। चुनौतीपूर्ण परिस्थितिमा समेत संयमित, पारदर्शी र परिणाममुखी ढंगले जिम्मेवारी पूरा गर्दै उनले उत्कृष्ट प्रहरी सेवाको उदाहरण प्रस्तुत गरेका छन्।
प्रहरी संगठनभित्र इमान्दार, लगनशील र जिम्मेवार प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने “TRAFFIC POLICE OF THE MONTH” सम्मानले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा र सेवाप्रतिको समर्पण अझ बलियो बन्ने विश्वास गरिएको छ।
नागरिकको दैनिक यात्रा सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन निरन्तर सडकमा खटिने ट्राफिक प्रहरीको भूमिकालाई डीएसपी शाहको सम्मानले थप उजागर गरेको छ। उनको यो उपलब्धिले सम्पूर्ण ट्राफिक प्रहरी संगठनमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा थप्ने अपेक्षा गरिएको छ।
