उदयदेव बहुउद्देश्यीय सहकारीको २७औँ साधारण सभा सम्पन्न

धनसिंह धामी, ३१ भदौ
कञ्चनपुर – सुदूरपश्चिमको अग्रणी संस्था उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २७औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले विगत २६ वर्षदेखि सहकारी क्षेत्रमा योगदान दिंदै लगानी र निक्षेप संकलन वृद्धिमा निरन्तर प्रगति गर्दै आएको जनाएको छ।

केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरमा रहेको सहकारीका तथ्याङ्कअनुसार हालसम्म संस्थाका २६ हजार २१८ सदस्य छन्। सहकारीले गत आर्थिक वर्षसम्म १ अर्ब ९९ करोड ६५ लाख ३२ हजार ६९४ रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१२ प्रतिशतले बढी हो। त्यस्तै, १ अर्ब ६३ करोड ३० लाख १७ हजार ४४८ रुपैयाँ ऋण लगानी गरिएको छ, जसमा ७.४५ प्रतिशत वृद्धि भएको छ।

गत आर्थिक वर्ष ०८१/०८२ मा सहकारीले २९ करोड ३३ लाख ८१ हजार ६०६ रुपैयाँ नाफा कमाएको थियो। खर्च कटौती तथा कर्जा नोक्सानी व्यवस्थापनपछि ३ करोड ७५ लाख ९२ हजार ११७ रुपैयाँ शुद्ध नाफा आर्जन गरिएको हो। सहकारीले यस अवधिमा २ करोड १५ लाख २३ हजार १७५ रुपैयाँ कर विभिन्न शीर्षकमा भुक्तानी गरेको छ।

संस्थाले कृषि, व्यवसाय, औद्योगिक र हाउजिङ्ग क्षेत्रमा लगानी गर्दै आएको छ। साथै, ४ हजार ६२० सदस्यको कर्जा बीमा गरेर ३२ लाख ७० हजार ७५० रुपैयाँ क्षतिपूर्ति प्रभावित परिवारलाई उपलब्ध गराएको जनाएको छ।

चालु आर्थिक वर्ष ०८२/०८३ का लागि सहकारीले ३ खर्ब १ करोड २० लाख १३ हजार ७२६ रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरेको छ। सहकारीले दशैंअघि नै ७.७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दका अनुसार, महेन्द्रनगरसहित दोधारा–चाँदनी, दैजी, झलारी, कृष्णपुर, बेलौरी, कैलालीको अत्तरिया, डडेल्धुरा र बैतडीमा शाखा मार्फत कारोबार भइरहेको छ। सहकारीले कृषि प्रवर्द्धन केन्द्र, कस्टम हायरिङ सेन्टर, बीउ–बिजन प्रशोधन केन्द्र, राइस मिल सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ।

सहकारी अध्यक्ष नारा जोशीले आगामी दिनमा सदस्यलाई छिटो, छरितो र गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाइन्। उनले मोबाइल बैंकिङ, क्युआर कोड, कोप कार्ड, सात दिनभित्र कर्जा लगानी, उत्पादनमूलक क्षेत्रमा कुल कर्जाको ५० प्रतिशत लगानीजस्ता कार्यक्रम अघि सार्ने घोषणा गरिन्।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक चित्राङ्ग थापा, कोषाध्यक्ष शंकरदत्त भट्ट, लेखा परीक्षक सिए प्रकाश दत्त भट्ट, प्राध्यापक डा. प्रेमसिंह भाट, नेपाल बार एसोसिएसन उच्च अदालत महेन्द्रनगरका अध्यक्ष भूपेन्द्र विष्ट लगायतले सहकारीका कार्यप्रति आ–आफ्ना धारणा राखेका थिए।

प्रमुख अतिथि तथा सहकारीका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दले सहकारीले जनताको हितमा गरेको योगदान उल्लेखनीय रहेको भन्दै राज्यले सहकारीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply