खेमराज भट्ट, भाद्र ३१
कञ्चनपुरको बेलौरी नगरपालिका–५ पुष्पलाल सामुदायिक वनबाट आएको जंगली हात्तीको बथान हिजो राति स्थानीय किसान विनोद चौधरीको धानखेतमा प्रवेश गरी बालीमा ठूलो मात्रामा नोक्सानी पुर्याएको छ।
धानबालीमा पस्नेबित्तिकै हात्तीले भर्खर पाक्दै गरेको धान कुचालेर खेत उजाडेपछि किसान चौधरीसहित गाउँभरि चिन्ता छाएको छ। स्थानीय किसानले भने, “सारा वर्षको पसिना यही धानमै लगाएका थियौँ, तर हात्तीले एकै रातमा उजाडिदियो। अब परिवार पाल्ने आधार नै गुम्ने डर छ।”
बच्चा सहितको हात्तीको बथान अहिले पनि बस्ती नजिकैको जंगलमा देखिएको छ। सब–डिभिजन वन कार्यालय बेलौरीका अधिकृत दिनेश यादवका अनुसार हात्ती अझै नजिकै रहेकाले थप क्षतिको सम्भावना उच्च छ। उनले स्थानीयलाई राति बाहिर ननिस्कन, भीड नगर्न र हात्ती देखिए तुरुन्तै वन कार्यालय वा उपभोक्ता समितिलाई जानकारी दिन आग्रह गरेका छन्।
यसैगरी सितानगर, बनतरिया, रामनगर लगायतका बस्तीमा पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ