जेनजी आन्दोलनमा काँग्रेस नेता पदम बोगटीको घर खरानी

कञ्चनपुर, असोज ३ — काँग्रेस कञ्चनपुरका सभापति तथा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको निजी घर जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले जलाएपछि बोगटी परिवार विस्थापित बनेको छ।

नेविसंघ हुँदै राजनीतिमा प्रवेश गरेका बोगटी देशभर ‘सादगी नेता’का रुपमा चिनिन्छन्। आफ्नै पुर्खाले आर्जेको सम्पत्ति बेच्दै जनताको सेवामा राजनीति गर्ने बोगटीले निजी सम्पत्ति बढाउनेभन्दा उल्टै पुर्खाको सम्पत्ति घटाएका छन्।

गत भदौ २३ गते काठमाडौंमा सुरु भएको जेनजी आन्दोलनमा १९ बालबालिकासहित सयौँ घाइते भएपछि आन्दोलन कञ्चनपुरमा पनि चर्किएको थियो। २४ भदौँमा तत्कालीन गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको घरमा आगजनी भएपछि एक हुल आन्दोलनकारी बोगटीको भीमदत्त–२ उल्टाखाम (महुलिया)स्थित पुर्ख्यौली घर र बजारको व्यवसायिक घरतर्फ पुगेका थिए।

त्यस क्रममा बोगटीको गाँउको घरमा ढुङ्गामुढा, आगजनी, तोडफोड र लुटपाट गरी उनका स्व. पिता भवानसिंह बोगटीले बनाएको घर खरानी बनाइयो। परिवारका सदस्य लगाउने कपडासहित घरभित्रका सबै सामान नष्ट भए। बजारको व्यवसायिक घरमा पनि तोडफोड भयो।

बोगटीका छोरा आशिष बोगटीले भने, “हाम्रो घर जमिन हजुरबुबाले कमाएको हो। बाबुले राजनीति गर्दा निजी सम्पत्ति घटेको छ। आन्दोलनकारीले जानीजानी निर्दोष घरमा आगो झोसिदिए।”

राजधानीबाट टाढा रहेका मेयर बोगटीले आन्दोलनमा गोली चलाउन आदेशसमेत नदिएको उनका समर्थकहरू स्पष्ट पार्छन्। स्थानीयले पनि भ्रष्टाचारविरुद्धको आन्दोलनमा निर्दोष घर ध्वस्त पारिनु अमानवीय कार्य भएको भन्दै भत्र्सना गरेका छन्।

बोगटीले राजनीतिक जीवनमा चार दशकअघि नै पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष सुरु गरेका थिए। ०२० सालतिर महेन्द्रनगर आदर्श गाउँ पञ्चायतको नेतृत्व सम्हालेका उनका पिता भवानसिंहकै विरुद्ध उनी लोकतान्त्रिक आन्दोलनमा उत्रिएका थिए। ०४६ सालको जनआन्दोलनमा समेत बोगटी सक्रिय थिए।

०७४ सालमा पहिलो पटक मेयरमा पराजित भएका उनी ०७९ मा निर्वाचित भए। हाल उनी काँग्रेस जिल्ला सभापति र मेयर दुवै हैसियतमा आन्दोलनबाट क्षतिग्रस्त परिवारहरूलाई सान्त्वना दिने, स्थलगत अनुगमन गर्ने र पुनर्निर्माण अभियानमा सक्रिय छन्।

घर खरानी भएपनि बोगटीले शान्ति र संविधानको रक्षा गर्दै धैर्यपूर्वक अपिल गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply