जनक बहादुर चन्द
कञ्चनपुर, ३ असोज
२४ भदौ (मंगलबार) जेन–जी आन्दोलनले कञ्चनपुरमा पनि तीव्र रुप लिएको छ। आन्दोलनकारीले तत्कालीन गृहमन्त्री रमेश लेखकसहित विभिन्न नेताका निजी घर, सरकारी तथा सार्वजनिक कार्यालय र व्यवसायिक भवनमा तोडफोड, आगजनी र लुटपाट गरेका छन्।
यही क्रममा भीमदत्त नगरपालिका–१८, महेन्द्रनगर जानकी टोलस्थित उपमेयर निलम लेखकको घरमा समेत हुलले आक्रमण गरेको थियो।
कांग्रेस नेतृ लेखकका अनुसार, आफ्नो घर कुनै पदमा पुगेपछि बनेको होइन। “यो त मेरो पुर्खाको जमिन बेचेर जेठाजु र श्रीमानसँग अंशबण्डा गरेर ल्याएको जग्गामा बनाएको घर हो,” उनले भनिन्। उनका श्रीमान रामप्रसाद जोशी ०७४ सालमा नेपाल विद्युत प्राधिकरणमा प्राविधिक जागिरे बनेपछि उक्त घर निर्माण भएको उनले स्पष्ट पारिन्।
तर, आन्दोलनकारीले व्यक्तिगत राजनीतिक प्रतिशोधका कारण आफ्नो घर लक्षित गरिएको लेखकको आरोप छ। “गृहमन्त्री रमेश लेखककी बहिनीको घर भनेर चौथो पटकसम्म पनि पसेर हुलले तोडफोड र आगजनी गर्यो,” उनले भनिन्।
घरभित्र रहेका नेता–कार्यकर्ताका तस्बिरसमेत जलाईएको उनले बताइन्। “गृहमन्त्री रमेश लेखक मात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवा, स्व. गिरीजाप्रसाद कोइरालासहितका शीर्ष नेताका तस्बिरसमेत जलाईदिए,” उनले भनिन्।
लेखकले आन्दोलनकारीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा तोडफोड गरेको र नखाइनेका लागि जोडेको गरगहना समेत लुटिएको गुनासो गरिन्। “हामी पनि जनआन्दोलनमा होमिएका मान्छे हौँ, तर यस्तो हिंसा, लुटपाट कहिल्यै देखेका थियौँ,” उनले दुखेसो पोखिन्।
लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेकी लेखक २०७९ सालमा पहिलो पटक उपमेयर बनेकी हुन्। ०६२/०६३ को दोस्रो जनआन्दोलनमा सहभागी हुँदा प्रहरीले कुटपिट गर्दा आफ्नो गर्भसमेत नष्ट भएको अनुभव उनले सम्झिइन्।
उनले जेन–जीको मागलाई जायज भने पनि आन्दोलनकै नाममा व्यक्तिगत रिसइबीका कारण घरमा तोडफोड, लुटपाट हुनु दुःखद भएको बताइन्। “आज देश डुबिरहेको बेला हामीले फेरि उठेर जनताको सेवा गर्नुको विकल्प छैन,” उपमेयर लेखकले भनिन्।