शहीदहरूको सम्झनामा दीप प्रज्वलन — धनगढीमा आज विशेष कार्यक्रम

हेमा भट्ट
धनगढी, असोज ५ —
इतिहास साक्षी छ, परिवर्तनको यात्रामा ज्यान आहुति दिने शहीदहरू कहिल्यै बिर्सन सकिँदैनन्। नेपालका युवाहरूले अगाडि सारेको जेन–जि आन्दोलनले देशलाई नयाँ चेतना, न्याय र समानताको बाटोतर्फ अघि बढाएको छ। तर, यही आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरू अब हामीमध्ये छैनन्। उनीहरूको त्याग, बलिदान र सपना जीवित राख्ने उद्देश्यले आज धनगढीको पार्क मोडमा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (N-FECOFUN) ले दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागेको छ।

मिति २०८२ असोज ५ गते साँझ ठिक ६:३० बजे आयोजना हुने यो कार्यक्रममा शहीदहरूको अमर स्मृति र उनीहरूले देखाएको बाटोलाई सम्मानपूर्वक सम्झन सबैलाई आह्वान गरिएको छ। महासंघले जारी गरेको सूचनामा भनिएको छ,
“यो दीप केवल दियो होइन, यो बलिदानको प्रतीक हो, यो उज्यालो न्याय र समानताको दिशामा निरन्तर अघि बढ्ने हाम्रो प्रतिज्ञा हो।”

महासंघसँग आवद्ध केन्द्रीय, प्रदेश, जिल्ला र पालिका समितिका पदाधिकारी, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारीहरूलाई औपचारिक आमन्त्रण गरिएको छ। तर, यस कार्यक्रम केवल संस्थाको सीमामा सीमित नभई सम्पूर्ण धनगढीबासी र जनताको लागि खुलेको श्रद्धाञ्जली सभाजस्तै हुनेछ।

उपस्थित प्रत्येकको हातमा बल्ने सानो दीपले शहीदहरूको अपूरणीय योगदानलाई सम्झाउनेछ। आँखा रसाउनेछ, तर मनमा दृढ संकल्प जाग्नेछ — उनीहरूले देखाएको बाटो अधुरो नरहोस्, देशमा न्याय र समानताको सुर्यास्त नहोस्।

आजको साँझ धनगढीमा दीपमालासँगै शहीदहरूको सपना झल्किनेछ। दीपको उज्यालोले मार्ग प्रशस्त गरोस्, बलिदानको सम्झनाले हाम्रो हृदयलाई बलियो बनाओस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply