विपन्न महिलालाई ५ दिने दुना–टपरी तालिम सम्पन्न

हेमा भट्ट, असोज ६, कञ्चनपुर
कञ्चनपुर — कृष्णपुर नगरपालिका–५ स्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहले अति विपन्न महिलालाई लक्षित गरी आयोजना गरेको ५ दिने दुना–टपरी निशुल्क तालिम सोमबार सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख आयोजक तथा समूहका अध्यक्ष रामचन्द्र भट्टका अनुसार उपभोक्ताको मागअनुसार यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइएको हो। उनले भने, सामुदायिक वन केवल संरक्षणमा सीमित छैन, यसले समाजलाई आत्मनिर्भर बनाउन सीप विकासका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। महिलालाई आत्मनिर्भर बनाउन यस्ता तालिम अझ आवश्यक छन्।

तालिम पाँच दिनसम्म सञ्चालन गरिएको थियो। सहभागी महिलाले सालका पात सदुपयोग गरी दुना–टपरी बनाउन आवश्यक सम्पूर्ण प्राविधिक सीप सिके। प्रशिक्षक बिमला चौधरीले महिलालाई उत्पादनदेखि प्रयोगसम्मका सम्पूर्ण प्रक्रिया व्यावहारिक ढंगले सिकाएकी थिइन्।

चौधरीले दुना–टपरीलाई अर्गानिक र पर्यावरणमैत्री उत्पादनका रूपमा प्रस्तुत गर्दै भनिन्, सालका पातबाट बनेको दुना–टपरी स्वास्थ्यका दृष्टिले सुरक्षित मात्र होइन, यसले प्लास्टिकको प्रयोग घटाएर वातावरण संरक्षणमा पनि ठूलो योगदान पुर्‍याउँछ।

वनदेवी सामुदायिक वनले यसअघि पनि स्थानीय समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिसकेको छ। तीमध्ये वन संरक्षण, आयमूलक कृषि, सीप विकास तालिम तथा गोष्ठीलाई प्राथमिकतामा राखिएको अध्यक्ष भट्टले जानकारी दिए। उनका अनुसार, सीपमूलक तालिमले विपन्न वर्गलाई आयआर्जन गर्न सहयोग पुग्नेछ र यसले समाजलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

तालिममा सहभागी महिलाहरूले सिकेका सीप आफ्नो घरपरिवारमा मात्र नभई स्थानीय बजारमा समेत उपयोग गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उनीहरूले दुना–टपरी उत्पादनलाई व्यवसायिक रूपमा विकास गर्न सकिने र यसले आय–आर्जनमा टेवा पुर्‍याउने धारणा राखे।

समापन समारोहमा अध्यक्ष रामचन्द्र भट्टले तालिम लिएका महिलालाई प्रमाणपत्र वितरण गर्दै निरन्तर अभ्यासमार्फत सीपलाई आयआर्जनमा जोड्न प्रेरित गरे। साथै, कार्यक्रममा सहभागी पत्रकार तथा स्थानीय अतिथिलाई मायाको चिनो दिई सम्मान गरिएको थियो।

समापन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक अगुवा, पत्रकार तथा वन उपभोक्ता सदस्यहरूको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply