दशैं–तिहार मनाउन गाउँ फर्किँदै उपत्यकावासी, गंगबु बसपार्कमा यात्रुको भीड

खेमराज भट्ट,असोज ६
काठमाडौ – देशकै सबैभन्दा ठूलो चाड दशैं नजिकिँदै गर्दा उपत्यका दिनप्रतिदिन रित्तिँदै गएको छ। राजधानी काठमाडौं छाडेर गाउँ–गाउँ घर–घर फर्किनेको लामो लर्कोले सडकदेखि बसपार्कसम्म भरिएको छ। विशेषगरी गोंगबु नयाँ बसपार्क यात्रुको भीडले खचाखच छ, जहाँ बिहान सबेरैदेखि नै आफ्नाे गन्तव्यतर्फ फर्कन आतुर यात्रुहरूको भिड देखिन्छ।

काठमाडौं उपत्यकामा रोजगारी, शिक्षा र व्यवसायका लागि बसोबास गर्दै आएका लाखौं नागरिकहरू वर्षमा एकपटक घर फर्की परिवारसहित दशैं–तिहार मनाउने परम्परा हुन्छ। यही कारण राजधानीको चहलपहल कम हुँदै जान थालेको छ भने उपत्यका बाहिरका सहरी र ग्रामीण बजारतिर चहलपहल बढेको छ।

यातायात व्यवसायी महासंघका अनुसार दशैं सुरू हुनु अघिका केही दिनमै दैनिक लाखौं यात्रु काठमाडौं छाड्ने गरेका छन्। बसपार्ककाे प्राङ्गणमा टिकेट किन्ने, सामान बोकेर गन्तव्यतिर जाने यात्रु, यात्रु धपाउन व्यस्त कर्मचारी तथा सवारी चालकहरू एकैपटक देख्दा चाडको उत्साह स्पष्ट झल्किन्छ।

यस वर्ष पनि सरकार तथा यातायात व्यवसायीले यात्रु थप सहजताका लागि विशेष तयारी गरेको जनाइएको छ। अतिरिक्त बसको व्यवस्था, अग्रिम टिकट बिक्री, अनुगमन टोली खटाउने लगायतका उपाय अपनाइएका छन्। तर पनि लामो दूरीका यात्रुहरूलाई अझै पनि टिकट पाउन हम्मे पर्ने गरेको गुनासो सुन्न पाइन्छ।

गंगबु बसपार्कमा भेटिएकी धनगढीकी सीता थापाले भनिन्, वर्षभरि काठमाडौंमा पसिना बगाउँछौं, चाडपर्व भने परिवारसँग गाउँमै मनाउन पाउँदा थकाइ बिर्सिन्छ। उता दैलेखका रमेश बमले भने, टिकट पाउन गाह्रो भए पनि गाउँ पुग्ने उत्साहले सबै दुःख सजिलो भइसकेको छ।

उपत्यका भित्रका बजार, पसल र कार्यालयहरू पनि क्रमशः सुनसान हुँदै गएका छन्। विशेषगरी विद्यार्थी र श्रमिकहरूको संख्यामा आएको कमीले काठमाडौंको भीडभाड घट्दै गएको हो।

यता सुरक्षा निकायले यात्रुको भीडलाई व्यवस्थित गर्न तथा चोरी–डकैतीजस्ता अपराध रोक्न प्रहरी बल बढाएको छ। बसपार्क र ठूला सडक चोकमा प्रहरीको बाक्लो उपस्थिति देखिन्छ।

चाडपर्व नजिकिँदै गर्दा काठमाडौं खाली हुँदै गाउँ र जिल्लाहरू फर्किने यात्रुको बढ्दो लर्कोले दशैं आउँदैछ,भन्ने अनुभूति देशभरमा फैलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply