कैलाली – असोज ७
अन्तरिम सरकारले शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री महावीर पुनले फरक अभ्यास सुरू गरेका छन्। मन्त्रालय सम्हालेको केही दिनमै उनले परम्परागत मन्त्री आवास वा होटलमा नबसी, सिंहदरबार नजिकै रहेको केशर महलस्थित मन्त्रालय परिसरमै खाना र बस्ने व्यवस्था मिलाएका छन्।
नेपालमा प्रायः मन्त्रीहरूलाई विशेष आवास, सुरक्षा र ऐश्वर्यपूर्ण सुविधा उपलब्ध गराइने चलन छ। तर पुनले त्यसलाई तोड्दै “मन्त्रालयमै बसेर प्रत्यक्ष काम गर्न सजिलो हुन्छ” भन्ने कारण देखाउँदै यस्तो निर्णय गरेका हुन्। उनका अनुसार, यसले समय र स्रोत दुवैको बचत मात्र होइन, कार्यशैलीमै मौलिक परिवर्तन ल्याउनेछ।
महावीर पुन विगतदेखि नै अनुसन्धान, आविष्कार र सामाजिक उद्यमशीलतामा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले मन्त्री बनेपछि आफ्नो निजी साधारण जीवनशैलीलाई निरन्तरता दिँदै जनताप्रति जवाफदेही देखिनेगरी कदम चालेका छन्।
उनको यो निर्णयलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। धेरैले टिप्पणी गर्दै भनेका छन् —
“सबै मन्त्री यस्तै भए, देश छिट्टै समृद्धिको बाटोमा पुग्थ्यो।
मन्त्रालयमै बस्दा बिहान–साँझ मन्त्रालय आउजाउ गर्ने झन्झट हट्नेछ। यसले मन्त्रालयका कर्मचारी र सम्बद्ध निकायसँग प्रत्यक्ष समन्वय गर्न सजिलो हुने पुनको विश्वास छ। साथै, उनले काममा ढिलासुस्ती गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सकिने अपेक्षा व्यक्त गरेका छन्।
नेपालको राजनीतिक परिवेशमा नेताहरूले प्रायः सत्ता र सुविधा खोज्ने आलोचना खेपिरहेका बेला पुनको यो कदमले फरक सन्देश दिएको छ। यो अभ्यास दीर्घकालीन रूपमा संस्थागत हुन सके जनताको करबाट उठ्ने करोडौं खर्च बचत हुन सक्ने देखिन्छ।
अन्तरिम सरकार अल्पकालीन भए पनि महावीर पुनको यस्तो व्यवहारले नयाँ खालको आशा जगाएको छ। सरल जीवनशैली, पारदर्शी कार्यशैली र जनमुखी सोचका साथ मन्त्रीहरूले काम गर्ने संस्कार विकास भए नेपालको सुशासन र समृद्धिको यात्रामा ठूलो टेवा पुग्ने देखिन्छ।