असोज १२
काठमाडौ – भाद्र २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले असोज १२ गते बसेको बैठकबाट महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना उच्च पदस्थ अधिकारीलाई छानबिनका लागि कुनै पनि समयमा उपस्थित हुन निर्देशन दिएको छ।
आयोगले दिएको जानकारीअनुसार, आयोगको पूर्व स्वीकृति बिना काठमाडौं उपत्यकाबाहिर नजान सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय समेत गरिएको छ।
आयोगले उपस्थित हुन निर्देशन दिएका व्यक्तिहरूमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी र पूर्व प्रमुख जिल्ला अधिकारी सुनिता राज रहेका छन्।
यस्तै, आयोगले भाद्र २३ र २४ गतेका घटनाको छानबिनलाई अझ प्रभावकारी बनाउन अतिरिक्त जनशक्ति आवश्यक भएको निष्कर्ष निकालेको छ। यसका लागि गृह मन्त्रालयलाई विज्ञसहितको जनशक्ति उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि भएको छ।
आयोगका सचिवालयका अनुसार छानबिन कार्यलाई पारदर्शी र नतिजामुखी बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।