खुल्ला क्रिकेट प्रतियोगिता २०८२ सम्पन्न : वनदेवी सामुदायिक वन प्रथम

हेमा भट्ट, असाेज १३
कृष्णपुर, असोज — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना गरिएको खुल्ला क्रिकेट प्रतियोगिता–२०८२ भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न सामुदायिक वन उपभोक्ता समूहबीच भएको प्रतिस्पर्धाले स्थानीय स्तरमा खेलकुदको महत्व झन् प्रष्ट बनाएको सहभागीहरूले बताएका छन्।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वनदेवी सामुदायिक वन उपभोक्ता समूहले प्रथम स्थान हात पार्दै नगद रु. ५५,०००, आकर्षक ट्रफी र प्रमाणपत्र जितेको छ। त्यस्तै, उपविजेता बनेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले रु. २५,०००, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको गोलावारी सामुदायिक वन उपभोक्ता समूहले रु. १५,०००, ट्रफी, प्रमाणपत्र र मेडल हात पारेको छ।

समापन समारोह वनदेवी सामुदायिक वनका अध्यक्ष रामचन्द्र भट्टको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि कृष्णपुर नगर प्रमुख हेमराज ओझा, विशिष्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष टेक राज पाण्डे, इलाका प्रहरी कार्यालय गुलरियाका वरिष्ठ सहायक नरेश चन्द, साथै विभिन्न सामुदायिक वनका अध्यक्षहरू — हरियाली सामुदायिक वनका नित्यानन्द जेठारा, जानकी सामुदायिक वनका चन्द्र प्रकाश भट्ट, उग्रतारा सामुदायिक वनका मदन राना, वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, सव–डिभिजन वन कार्यालय पिपरियाका कर्मचारी हरि सार्की, समाजसेवी, बुद्धिजीवी, शिक्षक, महिला र खेलप्रेमीहरूको बाक्लो सहभागिताले समारोहलाई झन् गौरवमय बनाएको थियो।

खेलाडीहरूलाई प्रमुख अतिथि नगर प्रमुख ओझा र विशिष्ट अतिथि वडा अध्यक्ष पाण्डेले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए। साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष सम्मानसहित ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो।

समारोहलाई सम्बोधन गर्ने वक्ताहरूले खेलकुद केवल मनोरञ्जनका लागि नभई स्वास्थ्य, सामाजिक एकता र राष्ट्रिय गौरवसँग जोडिएको विषय भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए।

प्रतियोगितामा सहभागी खेलाडी र दर्शक दुवै उत्साहित बनेका थिए। प्रतिस्पर्धात्मक मात्र नभई मेलमिलापपूर्ण र उत्साहजनक माहोलमा सम्पन्न प्रतियोगिता स्थानीयस्तरमै खेल प्रतिभा उजागर गर्ने उत्कृष्ट अवसर बनेको सहभागीहरूले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply