कञ्चनपुर – बुधबार, असोज १५, २०८२ – फिलिपिन्सको मध्य भागमा मंगलबार राति गएको ६.९ म्याग्निच्युडको भूकम्पले कम्तीमा २२ जनाको ज्यान लिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रविन्दु सेबु प्रान्तको बोगो शहर नजिक पालोम्पोन क्षेत्रमा थियो ।
स्थानीय उद्धारकर्मीका अनुसार, बोगोमा मात्र १३ जनाको मृत्यु भएको छ, जसमा चार बालबालिका पनि छन् । तीन जनाको घर पहिरोले पुरिएको छ । छिमेकी सान रेमिगियो नगरपालिकामा पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ भने ताबुएलानमा एकजनाले ज्यान गुमाएका छन् ।
सान रेमिगियोको खेलकुद भवन भत्किँदा चार जनाको मृत्यु भएको थियो । तीमध्ये तीन जना कोस्टगार्ड सदस्य थिए, जसले स्थानीय बास्केटबल प्रतियोगितामा भाग लिइरहेका बेला छत भत्किँदा ज्यान गुमाए ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार, सो क्षेत्रमा ३७९ भन्दा बढी परकम्प मापन गरिएको छ । भवनहरू भत्किँदा हजारौं मानिस विस्थापित भएका छन् र उद्धार कार्य निरन्तर जारी छ ।