काठमाडौं, असोज १८ — राजधानी काठमाडौं आज बिहानदेखि अविरल वर्षाको चपेटामा परेको छ। निरन्तर वर्षाका कारण दृश्यता अत्यन्त कमजोर बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक (डोमेस्टिक) उडानहरू दिउँसो १ बजेसम्मका लागि स्थगित भएका छन्।
विमानस्थलका महाप्रबन्धक हङ्सराज पाण्डे का अनुसार काठमाडौंबाट पोखरा, जनकपुर, भरतपुर, भद्रपुर र तुम्लिङटारतर्फका सबै उडान रोकिएका छन्। “दृश्यता अत्यन्तै न्यून भएकाले यात्रु सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडान रोकिएको हो,” पाण्डेले बताए।
यसैबीच, अन्तर्राष्ट्रिय उडानहरू भने सीमित रूपमा सञ्चालनमा रहेका छन्। केही विमानहरू ढिलाइसहित आवागमन गरिरहेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी जारी गरेको छ।
राजधानीका सडकहरू जलमग्न बनेका छन्, ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको छ र यात्रुहरू विमानस्थलमा उडान खुल्ने आशामा प्रतीक्षारत छन्। विमानस्थल स्रोतका अनुसार आकाश खुलेपछि मात्र आन्तरिक उडान पुनः सञ्चालन गरिनेछ।