असोज १९ धनगढी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र प्रमुख व्यापारिक केन्द्र धनगढीमा लामो समयदेखि भोग्दै आएको सार्वजनिक शौचालयको अभावमा अब भने अन्त्य हुने भएको छ।
धनगढी उपमहानगरपालिकाले नगरका मुख्य तथा व्यस्त चोकहरूमा आधुनिक ‘स्मार्ट’ शौचालयहरूको निर्माण कार्यलाई तीव्रता दिएपछि वर्षौँदेखिको समस्यालाई समाधान हुने अपेक्षा गरिएको हो।
बजारमा शौचालय नहुँदा दिसा पिसाब गर्न बाहिर बाट आएका यात्रु, दैनिक मजदुरी गर्नेहरूलाई समस्या हुन्छ। दिसा पिसाब लागे हाेटल जानुपर्ने अवस्था छ। सार्वजनिक शौचालयका लागि समस्या भाेग्नुपर्ने अवस्था रहेको अटो चालक बिर्खे कामी सुनाउँछन्।
धनगढीका मुख्य व्यापारिक केन्द्र, चौराहा र सार्वजनिक कार्यालयहरू वरपर शौचालय नहुँदा स्थानीय र यात्रुहरूले ठुलो सास्ती भोग्नुपरेको छ। कैलाली जिल्लालाई २०७५ वैशाख ३० गते नै खुला दिसामुक्त घोषणा गरिएको थियो।धनगढी उपमहानगरपालिकाले नागरिकको यो आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सक्रियता देखाएको छ। उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टका अनुसार, नगरवासीको समस्यालाई समाधान गर्न उपमहानगरपालिकाले योजनाबद्ध रूपमा आधुनिक शौचालय निर्माणको काम अघि बढाएको हो। भट्टका अनुसार नगरका विभिन्न स्थानमा शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ र चाँडै नै सञ्चालनमा आउनेछ।
उपमहानगरपालिकाले पहिलो चरणमा नगरका सबैभन्दा बढी चहलपहल हुने स्थानहरूलाई प्राथमिकतामा राखेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अगाडि, जिल्ला प्रशासन कार्यालय अगाडि र डिभिजन वन कार्यालय अगाडि गरी चार स्थानमा आधुनिक शौचालय निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ।यीमध्ये जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालय अगाडिको शौचालय निर्माण कार्य अन्तिम चरणमा पुगेको इन्जिनियर भट्टले जानकारी दिए।
धनगढी उपमहानगरपालिकाले करिब एक करोड २० लाख ४० हजारको लागतमा यी चार शौचालय निर्माण गर्न लागेको हो। यसका साथै, उपमहानगरपालिका परिसरमा करिब ३९ लाखको लागतमा निर्माण भएको शौचालय सञ्चालनका लागि ठेक्का सम्झौतासमेत भइसकेको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा जिल्ला प्रशासन कार्यालय अगाडि निर्माण भएको वाटर एटीएमसहितको शौचालय पनि हस्तान्तरणको प्रक्रियामा छ। यी शौचालयहरूको कुल निर्माण लागत करिब एक करोड ३८ लाख रुपैयाँ रहेको र प्रति शौचालय औसत २३ लाख रुपैयाँ खर्च भएको इन्जिनियर भट्टले बताए।
निर्माण भइरहेका यी शौचालयहरू परम्परागतभन्दा फरक र आधुनिक सुविधायुक्त हुनेछन्। यी ‘स्मार्ट’ शौचालयहरूमा महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै कोठाहरूको व्यवस्था गरिएको छ। शौचालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन, हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर), र प्रशस्त पानीको सुविधा हुनेछ।
धारा र बत्तीहरूमा सेन्सर प्रणाली जडान गरिनेछ, जसले गर्दा प्रयोगकर्ताले छुनुपर्ने छैन र सरसफाइ कायम राख्न मद्दत पुग्नेछ। यसका साथै, केही शौचालयहरूमा सानो चमेना गृह सञ्चालन गर्न मिल्ने सटर र एक जना बस्न सक्ने कोठाको समेत व्यवस्था गरिएको छ। जसले सञ्चालन र व्यवस्थापनलाई सहज बनाउने अपेक्षा छ।
धनगढी बसपार्क, ट्राफिक चौराहा, विद्युत् कार्यालय क्षेत्र, बोराडाँडी, कबडहल क्षेत्र र खुला मञ्च जस्ता स्थानहरूमा पनि थप शौचालय निर्माण गर्ने योजना रहेको इन्जिनियर भट्ट बताउँछन्।
`बजार विस्तार हुने नयाँ ठाउँहरू, चटकपुर क्षेत्र र हुलाकी राजमार्गमा पनि शुद्ध खानेपानीसहितको शौचालय निर्माण गर्दै लैजाने योजना छ`, उनले भने। साभार रातोपाटी