हेमा भट्ट, असोज २० – धनगढी
दार्चुलाको महाकाली नगरपालिका–६ निसिल गाउँ जाँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जीप आइतबार साँझ करिब ४:१५ बजे भित्री सडकखण्डमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा सोही स्थानका २८ वर्षीय नरेश बहादुर पालको उपचारका क्रममा दार्चुला जिल्ला अस्पतालमा मृत्यु भएको हो।
दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रवक्ता छत्रबहादुर रावलका अनुसार दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको छ भने ५ जनालाई सामान्य उपचारपछि डिसचार्ज गरिएको छ।
दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रवक्ता छत्रबहादुर रावलका अनुसार दुर्घटनाको कारण खुलेको छैन तर प्रारम्भिक अनुमान अनुसार जीप सडकबाट अनियन्त्रित भई खसेको हो।
स्थानीय बासिन्दाका अनुसार दुर्घटनापछि उद्धार कार्य तत्काल सुरु गरिएको थियो। घटनापछि निसिल गाउँ शोकमा डुबेको छ। गाउँलेहरूका अनुसार स्व. नरेश पाल मिलनसार, हँसिला र सबैको प्रिय व्यक्ति थिए।
उनको निधनले गाउँ शोकमग्न भएको छ,एक स्थानीयले भने, “नरेश गाउँको सहारा थिए, उनको अभाव अब कहिल्यै पूरा हुन सक्दैन।”
दुर्घटनापछि स्थानीयले सो क्षेत्रमा सडक मर्मत तथा यातायात सुरक्षामा सुधारको माग समेत गरेका छन्।