कृष्णपुरकी तुली भुलको अन्तहीन पर्खाइ : हराइरहेको छोरा, सम्पर्कविहीन बुहारी र एक टुक्रा आशाको आसु

रैकवार खबर दैनिक – २०८२ असोज २१
कञ्चनपुर — कृष्णपुर नगरपालिका–९ राजघाटकी ६० वर्षीया तुली (लक्ष्मी) भुलको जीवन आज पर्खाइको पर्याय बनेको छ। दुई वर्षअघि भारत पसेका उनका छोरा खडके भुल एस्के बर्ष ३१ का हराएदेखि उनको घरको आँगनमा हरेक साँझ पर्खाइको पीडा पसारिएको छ। आँखामा निरन्तर रसिलो चमक छ — त्यो खुशीको होइन, दुःख र अपूरो प्रतीक्षाको हो।

छोरा गएको दुई वर्ष पुग्न लाग्यो, न खबर आयो न सन्देश, तुली भुल आँसु पुछ्दै भन्छिन्, हरेक साँझ बाटो हेरिरहेकी छु, कतै फर्किन्छ कि भनेर।
२०८० साल मंसिर १८ गते खडके र उनका छिमेकी साथीहरू देश भारतको सोलापुर पुगेका थिए। केही महिनापछि गुजरातको दाउतमा पुगेको खबर परिवारले सुनेको थियो। तर त्यसपछि सबै सम्पर्क टुट्यो। खडकेका बुबा देउमुनी भुल भन्छन्, गाउँकै साथीहरूसँगै गएको थियो। बसन्त जोरा लगायत उनका साथीहले पैसा संकलन गरि टिकट मिलाएको भन्ने सुनेको थिएँ। तर त्यसपछि कुनै समाचार आएन। फोन पनि एकचोटि मात्र आएको थियो, त्यो पनि मेरो नातिलाई । खडकेले अन्तिमपटक फागुन महिनामा घरमा फोन गरेका थिए। त्यसपछि उनको आवाज कहिल्यै घरको आँगनमा प्रतिध्वनित भएन।

१३ वर्षे छोरा अविनाश भुल अझै बुबाको प्रतिक्षामा छ। बालकको शब्दमा आशा र वेदनाको मिश्रण झल्किन्छ। बुवाले गएको मंसिरदेखि फागुनसम्म तीन पटक फोन गर्नुभएको रहेछ, तर हामीसँग बोल्नुभएको थिएन। म चाहन्छु मेरो बुबा फर्किनुहोस्… म उनलाई धेरै सम्झन्छु, अविनाश भन्छ।

खडकेकी श्रीमती सीता भुल पनि तीन वर्षअघि मुम्बईको बान्द्रामा बस्न गएकी थिइन्। त्यसपछि न उनले घर फर्किन्, न कुनै सम्पर्क रह्यो। बुहारी तिन वर्ष भयो हराइन्, छोरा दुई वर्षदेखि हरायो, तुली भुल भन्छिन्, हामी बुढाबुढी छौं, शरीर पनि साथ दिँदैन, नातिको जन्मदर्ता बनाउन खोज्दा वडाले प्रक्रिया पुगेको छैन भन्दै फर्काउँछ।

देउमुनी र तुली भुलको जीवन अहिले संघर्षकै परिभाषा बनेको छ। छोरा हराएपछि आम्दानी र आशाको स्रोत हरायो। अरूको खेतमा मजदुरी गरेर पेट पाल्ने उनीहरूका लागि भारत पुगेर छोरालाई खोज्ने खर्च जुटाउन पनि कठिन छ।
यहाँका प्रहरीलाई पनि भन्यौं, उनीहरूले भारतसँग सम्पर्क गर्न गाह्रो छ भने, देउमुनी भन्छन्।

गाउँका बासिन्दा नवीन महरा भन्छन्, एस्के दाजु साधारण मान्छे थियो। भारत गएर हराएको सुन्दा गाउँ नै स्तब्ध भयो। परिवार आर्थिक र मानसिक दुबै संकटमा छ। स्थानीयहरूले समेत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै खडके भुलको खोजीमा सहयोग गर्न आग्रह गरेका छन्।

रैकवार खबर दैनिकको टोली जब राजघाट पुग्यो, तुली भुल आँसु पुछ्दै बोलिन्, हाम्रो कुरा सुन्न मिडिया आएकोमा खुसी छु। अब कसैले मेरो छोरालाई खोजिदियोस्, यही मेरो अन्तिम इच्छा हो। उनको स्वरमा माया, पीडा र आभार मिसिएको थियो। यदि छोरा फर्कियो भने म मर्नु अघि उसलाई एकछिन अँगालो हाल्न चाहन्छु, उनले बिस्तारै भनिन्, त्यसपछि म शान्त हुनेछु।

खडके भुलको खोजीमा सहयोग गर्न इच्छुकहरूले नजिकको प्रहरी कार्यालय वा कृष्णपुर नगरपालिका–९ राजघाटस्थित परिवारलाई सम्पर्क गर्न सक्नेछन्।

अविनाशको त्यो सानो स्वर अझै कानमा गुन्जिरहेछ —म बुबालाई फर्किन चाहन्छु…
शायद त्यो आवाजले राज्य, समाज र प्रत्येक संवेदनशील मनलाई झकझक्याउनेछ।
किनभने आमा कहिल्यै हार्दिन — उनी सधैं पर्खिरहन्छिन्, पर्खाइकै नाममा बाँचिरहन्छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply