डिभिजन कार्यालयमा प्रमुख नहुँदा कञ्चनपुरका सामुदायिक वनका काम ठप्प

अध्यक्ष पुनाराम चौधरीको गुनासो — दुई महिनादेखि प्रशासनिक शून्यता, उपभोक्ता समूहहरू अलमलमा

हेमा भट्ट, असोज २२
कञ्चनपुर डिभिजन वन कार्यालयमा करिब दुई महिनादेखि कार्यालय प्रमुख (DFO) नहुँदा जिल्लाभरका सामुदायिक वनका काम ठप्प भएका छन्। सीता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुनाराम चौधरीका अनुसार साधारणसभाबाट पारित भएका योजना स्वीकृतिका चरणमै रोकिएका छन्।

“हामीले उपभोक्ताको सहभागितामा कार्ययोजना तयार गरेका थियौं, तर कार्यालय प्रमुख नहुँदा स्वीकृति प्रक्रियामै काम रोकिएको छ,” अध्यक्ष चौधरीले रैकवार खबर दैनिकसँगको विशेष संवादमा भन्नुभयो।

साधारणसभा सम्पन्न, तर निर्णय कार्यान्वयन रोकियो-सीता सामुदायिक वनले गत महिनामै साधारणसभा सम्पन्न गरी आगामी वर्षका लागि योजना र कार्ययोजना पारित गरेको थियो। तर ती निर्णय अझै कार्यान्वयनमा जान नसकेको चौधरीको भनाइ छ। साधारणसभाबाट पारित योजनाको जिम्मेवारी कार्यसमितिमाथि पर्छ, तर कार्यान्वयनका लागि डिभिजन कार्यालयको स्वीकृति अत्यावश्यक हुन्छ,उहाँले बताउनुभयो।

प्रशासनिक शून्यताले फाइल अड्किए- डिभिजन वन कार्यालयमा हाल निमित्त प्रमुखको भरमा काम चलाइँदै छ। तर निर्णय तहका प्रक्रिया अघि बढ्न नसक्दा उपभोक्ता समूहहरू मारमा परेका छन्। डिभिजनले न त आपूर्ति काठ लिन सकेको छ, न त उपभोक्ता समूहले वितरण गर्न पाएका छन्, चौधरीले गुनासो गर्नुभयो।

मन्त्रालय मौन, उपभोक्ता अन्योलमा- सुदूरपश्चिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लामो समयदेखि नयाँ प्रमुख नपठाउँदा जिल्लामा वनसम्बन्धी सबै काम प्रभावित भएको अध्यक्ष चौधरीले बताउनुभयो। मन्त्रालय मौन छ। सामुदायिक वनहरू योजनाविहीन बनेका छन्, उहाँको भनाइ छ।

उपभोक्ताबीच सहकार्य, तर गति अभाव- उपभोक्ताहरूबीच राम्रो सहकार्य भए पनि प्रशासनिक अभावले योजनामा गति आउन नसकेको चौधरीले जनाउनुभयो। हामी सबै एक भएर काम गर्न तयार छौं। पारदर्शिता र सहभागितामा कुनै विवाद छैन, तर सरकारी समन्वय नहुँदा सबै काम अड्किएको छ,उहाँले भन्नुभयो।

लेखापरीक्षण तयारी, स्वीकृति पर्खाइमा- सीता सामुदायिक वनले आर्थिक विवरण तयार गरी लेखापरीक्षणको तयारी गरिसकेको छ। तर डिभिजन कार्यालयको स्वीकृति ढिलो हुँदा सार्वजनिक गर्न नसकिएको उहाँले जानकारी दिनुभयो। सबै विवरण पारदर्शी छन्, तर स्वीकृति प्रक्रियामै ढिलाइ भएकाले प्रकाशन गर्न ढिलो भएको हो, चौधरीले स्पष्ट पार्नुभयो।

महिला र युवा सहभागितामा जोड-अध्यक्ष चौधरीका अनुसार समूहले आगामी वर्षमा वन संरक्षणसँगै महिलाको नेतृत्व विकास र युवालाई निर्णय तहमा सहभागी गराउने प्राथमिकता लिएको छ। हामी वैज्ञानिक वन व्यवस्थापनलाई निरन्तरता दिँदै संरक्षण र उत्पादनबीच सन्तुलन कायम गर्न चाहन्छौं,उहाँले भनुभयो।

तत्काल नयाँ DFO पठाइयोस्’ – कञ्चनपुर डिभिजन वन कार्यालयमा तत्काल नयाँ प्रमुख पठाइयोस्। हामी तयार छौं — उपभोक्ताको हितमा हरियाली अभियान पुनः सुरु गर्न, अध्यक्ष चौधरीले सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो।

वन व्यवस्थापनमा दुई दशकभन्दा बढी अनुभव भएका अध्यक्ष पुनाराम चौधरीले प्रशासनिक शून्यताको कारण सामुदायिक वनहरू ठप्प भएको स्पष्ट चित्रण गर्नुभएको छ। सम्बन्धित मन्त्रालयले शीघ्र प्रमुख नियुक्त नगरे कञ्चनपुरका हरियाली योजनाहरू कागजमै सीमित रहने संकेत देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply