कञ्चनपुर — कृष्णपुर नगरपालिकामा चालू आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले विनियोजन गरेको १२ करोड रुपैयाँ बराबरका योजना कटौती गरेको छ। नगरप्रमुख हेमराज ओझाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उक्त निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
नगरप्रमुख ओझाका अनुसार १० लाख रुपैयाँभन्दा मुनिका सबै योजना र ठूला पूर्वाधार विकास योजनासहित करिब १२ करोड रुपैयाँको बजेट कटौती गरिएको हो।
कटौतीमा परेका योजनामध्ये गुलरिया र वाणी बजार नाला निर्माणका लागि विनियोजित ३ करोड, वाणी मुक्तकमैया बस्ती (वडा नं. २) मा पूर्वाधार निर्माणका लागि छुट्याइएको ३ करोड, वडा नं. ८ मझगाउँ र धनगढी–१३ श्रीलंका जोड्ने मोहना नदीमा पक्की पुल बनाउन छुट्याइएको ३ करोड, र वडा नं. १ एक्लेबिजय साल–खार खोलामा तटबन्ध निर्माणका लागि विनियोजित ३ करोड रुपैयाँ बजेट कटौती गरिएको उनले बताए।
नगरप्रमुख ओझाले संघीय सरकारले नगरस्तरका प्राथमिकता प्राप्त योजनाहरू कटौती गर्दा स्थानीय विकासका कार्यहरू प्रभावित हुने र नगरवासीका आवश्यकता सम्बोधनमा बाधा पुग्ने बताएका छन्।
नगरपालिकाले हाल संघीय तहमा छलफल गरी कटौती गरिएको रकम पुनः प्राप्त गर्ने पहल सुरु गरेको जनाएको छ।