हेमा भट्ट, असोज २५
धनगढी- सुदूरपश्चिमाञ्चल समाज, धनगढी–कैलालीको आयोजनामा समालोचक तथा शोधक डा. तुलसी शर्माद्वारा लिखित समालोचनात्मक कृति ‘आधुनिक नेपाली कथामा लैङ्गिकता’ को लोकार्पण तथा दशैं–दीपावली २०८२ शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार धनगढीमा सम्पन्न भएको छ।
कार्यक्रम धनगढीस्थित सुदूरपश्चिम साहित्य समाजको सभाहलमा सम्पन्न भएको हो। लोकार्पण समारोहमा उपस्थित अतिथि, प्राध्यापक, साहित्यकार र शोधार्थीहरूले कृतिको विषयवस्तु, संरचना र सन्दर्भमा आफ्नो विचार व्यक्त गरेका थिए।
कार्यक्रमका विशेष अतिथि तथा डा. शर्माका गुरु आदरणीय गणेशराज जोशीले पुस्तकलाई गहन, सान्दर्भिक र अनुसन्धानपरक कृति भन्दै प्रशंसा गरेका थिए। उनका अनुसार, “नेपाली कथामा लैङ्गिकता जस्तो जटिल र संवेदनशील विषयलाई लेखिकाले शास्त्रीय गाम्भीर्यका साथ समेटेकी छन्।”
लोकार्पणपछि आफ्ना अनुभव बाँड्दै डा. तुलसी शर्माले भनिन्,
“सधैं अरूका कृतिबारे समीक्षा सुन्ने अवसर पाउँथेँ, तर आज आफ्नै पुस्तकबारे गुरुहरूका मूल्याङ्कन सुन्दा आत्मसन्तुष्टि महसुस गरेकी छु। यो कृति लेख्ने क्रममा महिला, पुरुष र तेस्रो लिङ्ग — तीनै दृष्टिकोणलाई समेट्ने प्रयास गरेकी छु।”
उनले थप भनिन्, “यो पुस्तकले लैङ्गिक अध्ययन, साहित्यिक अनुसन्धान तथा पीएचडी तहका विद्यार्थीहरूका लागि उपयोगी सन्दर्भ सामग्रीको काम गर्नेछ।”
डा. शर्माले पुस्तक लेखनमा प्रत्यक्ष तथा परोक्ष सहयोग पुर्याउने सबै सहयोगी र संस्थाप्रति आभार व्यक्त गर्दै कृति चाँडै समर्पण पुस्तकालय, धनगढीमा उपलब्ध हुने जानकारी दिइन्।
कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका साहित्यकार, समाजसेवी, शिक्षक, विद्यार्थी र साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच दशैं–दीपावली २०८२ का शुभकामना आदान–प्रदान गरिएको थियो।