आन्दोलनमा प्रहरीको हतियार लुट्ने युवक ब्राउन सुगरसहित पक्राउ

विराटनगर, असोज २६ जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने घटनामा संलग्न युवकसहित आठ जना झापाबाट पक्राउ परेका छन्। पक्राउ परेकासँग लागुऔषध ‘ब्राउन सुगर’ पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरीका अनुसार दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर–१ को एउटा छाप्रोमा लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा शनिबार साँझ प्रहरीले छापा मारेको थियो। सो क्रममा ७ ग्राम ८ सय मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) सहित आठ जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये आदित्य लिम्बू जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने घटनामा संलग्न रहेको बताइएको छ। त्यस्तै, मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट फरार भएका थिए।

अन्य पक्राउ पर्नेहरूमा साजन थापा, दिपेश तामाङ, सनम राई, पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझी रहेका छन्। प्रहरीका अनुसार ती व्यक्तिहरू लागुऔषध कारोबारमा समेत संलग्न थिए।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षकले बताएअनुसार, पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरिने तयारी भइरहेको छ।

सुरक्षा निकायका अधिकारीहरूले यस्ता घटनाले समाजमा गलत सन्देश पठाउने भन्दै अभिभावक, विद्यालय र समुदाय सबै मिलेर युवालाई असामाजिक गतिविधिबाट टाढा राख्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply