हरियालीको बीचमा पर्यटकीय गन्तव्य बन्दै “ग्रीन भ्यू खानपान गृह”
हेमा भट्ट, असोज २९
कञ्चनपुर -;कृष्णपुर नगरपालिका–९ राजघाट (चपरतला) मा आकर्षक र वातावरणमैत्री ग्रीन भ्यू खानपान गृह को बुधबार दिउँसो ३ बजे भव्य रूपमा उद्घाटन गरिएको छ।
उद्घाटन धनगढी उपमहानगरपालिका–१३ का सामाजिक अभियन्ता तथा डोटीका पूर्व तिजाली गाविस अध्यक्ष भक्तराज ओझाले रिबन काटी गरेका हुन्।
हरियाली र शान्त वातावरणबीच मोहना नदी किनार, मोहना पुल नजिकै स्थापना गरिएको यो खानपान गृहले स्थानीय क्षेत्रमै नयाँ पहिचान थपेको छ। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओझाले संचालक विज्ञान सिंहद्वारा सुरु गरिएको यो खानपान गृहले स्थानीय रोजगारी र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। उनले भने,स्थानीयस्तरमा यस्ता अर्गानिक र वातावरणमैत्री सेवाहरू विस्तार हुँदै जानु सकारात्मक परिवर्तनको संकेत हो।
संचालक विज्ञान सिंहले “ग्रीन भ्यू खानपान” नाम राख्ने कारणसमेत उद्घाटन कार्यक्रममा व्याख्या गरे। उनका अनुसार होटल वरिपरि हरियाली नै हरियाली भएको र प्रकृतिको सुन्दर दृश्य देखिने भएकाले नै ‘ग्रीन भ्यू खानपान’ नामाकरण गरिएको हो। सिंहले भने, हाम्रो होटलको वरिपरि हरियालीले ढाकेको प्राकृतिक सौन्दर्य नै मुख्य प्रेरणा हो। यही हरियाली देखेर ग्राहकले शान्ति र आनन्दको अनुभव गर्न सकून् भन्ने उद्देश्यले यो नाम राखिएको हो।
उनले थपे कि यहाँ अर्गानिक र गुणस्तरीय परिकारहरू उपलब्ध गराइने छन्। हामीले ग्राहकलाई स्वस्थ र स्थानीय स्वादको अनुभूति दिलाउने प्रयास गरेका छौं, सिंहले भने।
उनका अनुसार सेकेवा भट्टी, अर्गानिक लोकल कुखुरा, बंगुर र खसीको मासु, साथै स्थानीय तरकारी र मौसमी परिकारहरूका साथ विविध परिकारहरू तयार पारिएका छन्।
त्यसैगरी स्थानीय बासिन्दाहरूले राजघाट क्षेत्रमा नयाँ व्यवसायिक र सामाजिक चहलपहल बढेकोमा खुसी व्यक्त गरे। उनीहरूले विगत सात दशकदेखि अपेक्षित विकास नदेखिएको राजघाट अहिले पुल, सडक र होटल उद्घाटनसँगै आर्थिक गतिशीलताको नयाँ चरणमा प्रवेश गरेको बताए।
स्थानीय युवा सन्तोष चौधरीले भने, “अब हामीलाई खानपानका लागि धनगढी जानुपर्ने छैन, यहीँ गाउँमै राम्रो वातावरणमा रमाइलो गर्न सकिन्छ। उनका अनुसार यस्ता प्रयासहरूले गाउँको स्वरूप परिवर्तन गर्दै नयाँ पुस्तालाई स्वावलम्बनतर्फ प्रेरित गर्ने छन्।
हरियालीले भरिएको होटल परिसर, पन्छीहरूको मधुर स्वर र मोहना नदीको स्वच्छ हावापानीले आगन्तुकलाई मनमोहक वातावरण प्रदान गर्ने “ग्रीन भ्यू खानपान” धनगढी र आसपासका बासिन्दाका लागि नयाँ आकर्षण बन्दै गएको छ।
धनगढीको शहीद गेटदेखि चटकपुर हुँदै पश्चिमतर्फ जाने बाटोमा, मोहना पुलदेखि करिब २०० मिटर दूरीमा रहेको यो खानपान गृह धनगढी–गुलरिया जोड्ने कृषि सडकको छेउमा अवस्थित छ।
स्थानीय स्वाद, हरियाली दृश्य र आत्मीय आतिथ्यसहित “ग्रीन भ्यू खानपान” राजघाट क्षेत्रको नयाँ पहिचानका रूपमा अघि बढ्दै गएको छ। सामाजिक अभियन्ता भक्तराज ओझा “ग्रीन भ्यू खानपान गृह”को रिबन काट्दै उद्घाटन गर्दै।
संचालक विज्ञान सिंह होटलको नामकरणका कारणबारे बताउँदै। हरियालीले घेरिएको मोहना नदी किनारमा अवस्थित “ग्रीन भ्यू खानपान”को सुन्दर दृश्य।