अष्टम साना किसान सहकारीको २८औं वार्षिक साधारण सभा सम्पन्न, सहकारी सुदृढीकरण र उत्पादन प्रवर्द्धनमा जोड

कृष्ण केसी, बाँके, ३१ असोज २०८२ अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो २८औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष श्रद्धेय देवबहादुर ओलीको सभाध्यक्षता र बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष श्रीमती निर्मला रोकायज्यूको प्रमुख आतिथ्यमा सम्पन्न सभामा सहकारी सुदृढीकरण, पारदर्शिता र उत्पादन प्रवर्द्धनका विविध विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि एकता शाहज्यू, नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक सदस्य देवबहादुर केसी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय नेपालगञ्जका वरिष्ठ अधिकृत विदुर अर्याललगायत अतिथिहरूको उपस्थिति रहेको थियो। त्यस्तै जिल्ला कृषि संघ बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, सहकारी सञ्जाल बाँकेका अध्यक्ष नन्दकुमार गडरिया, जिल्लाभरका साना किसान सहकारीका प्रतिनिधिहरू, अष्टमका १४ सेवा केन्द्रका शेयर सदस्य र प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि रोकायज्यूले सहकारीलाई ग्रामीण समृद्धिको मेरुदण्डका रूपमा व्याख्या गर्दै स्थानीय सरकार सधैं सहकार्यका लागि तयार रहेको बताइन्। उनले अष्टम साना किसानले उत्पादनमा आत्मनिर्भरता र ग्रामीण रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीका लक्ष्यहरू व्यवहारिक र प्रेरणादायी भएको उल्लेख गरिन्।

जिल्ला कृषि संघ बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सहकारीलाई बदनाम गर्ने भ्रम फैलाउने तत्वहरूलाई कानुनी दायरामा ल्याइनुपर्नेमा जोड दिए। उनले “सहकारीबाट लिएको कर्जा तिर्नु हुँदैन” भन्ने गलत धारणा फैलाउने प्रवृत्तिलाई रोक्न सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।

सभामा अध्यक्ष ओलीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगत वर्षमा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जानकारी दिए। लेखा समिति संयोजक कमानसिंह खनालले आन्तरिक सुधारका सुझावसहित लेखा प्रतिवेदन प्रस्तुत गरे भने मुख्य प्रबन्धक हरिशचन्द्र केसीले आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम सार्वजनिक गरे।

संस्थाको वित्तीय विवरणअनुसार हाल अष्टम साना किसान सहकारीको कुल शेयरपूँजी २१ करोड ८५ लाख ४० हजार, कुल बचत १ अर्ब ३० करोड १४ लाख ८७ हजार, कुल ऋण लगानी २ अर्ब १ करोड ८१ लाख ६४ हजार, जगेडा कोष १३ करोड ५९ लाख ५० हजार र कुल सम्पत्ति २ अर्बभन्दा माथि पुगेको छ।

सहकारीले आगामी वर्षका लागि उत्पादन प्रवर्द्धनमा विशेष प्राथमिकता दिने निर्णय गरेको छ। अष्टम सिल्की राइस मिल र दूध डेरी व्यवसायलाई ब्रान्डको रूपमा विस्तार गर्दै १६,२२१ शेयर सदस्यका घरघरमा आफ्नै सहकारीका उत्पादन पुर्‍याउने दीर्घकालीन लक्ष्य प्रस्तुत गरिएको छ।

सभाको समापनमा अध्यक्ष ओलीले सबै सदस्य, शेयरधारक र साझेदार संस्थालाई निरन्तर सहयोगका लागि धन्यवाद दिँदै “सहकारीमार्फत समृद्ध गाउँ, आत्मनिर्भर किसान” भन्ने लक्ष्यप्रति अष्टम सधैं समर्पित रहने प्रतिवद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply