नेपाल संवत ११४६को स्वागतमा बेलौरीमा सांस्कृतिक र साँस्कृतिक एकता झल्किने कार्यक्रम

कञ्चनपुर, १ कार्तिक
नेपाल संवत ११४६ को पूर्वसन्ध्यामा कञ्चनपुरको बेलौरी नगरपालिकामा सांस्कृतिक र सामाजिक एकताको सन्देश दिने कार्यक्रम सम्पन्न भएको छ। नेवाः देय् दबू बेलौरी नगर कार्य समितिको आयोजनामा र बेलौरी नगरपालिकाको प्रर्वद्धनमा भएको उक्त कार्यक्रममा “भाषा, संस्कृति, सम्पदा, पुर्ख्यौली पौरख : नेपाल संवत राष्ट्रिय गौरव” भन्ने मूल नारा राखिएको थियो।

शनिबार बेलौरी–९ टेडिया स्थित भैरवदेव मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा नेवारी समुदायको सांस्कृतिक पहिचान झल्किने गीत–नृत्य, पोशाक र परिकार प्रस्तुत गरिएका थिए। कार्यक्रमको सभापतित्व नेवाः देय् दबू बेलौरी नगर कार्य समितिका अध्यक्ष सुरज श्रेष्ठले गर्नुभयो भने बेलौरी नगर प्रमुख पोतिलाल चौधरी प्रमुख अतिथि र नगर उपप्रमुख जोगराम चौधरी विशिष्ट अतिथि रहनुभयो।

कार्यक्रममा नेवाः देय् दबू कञ्चनपुर जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल संवत नेपाली अस्तित्व, पहिचान र गौरवको ऐतिहासिक प्रतीक रहेको बताउँदै यसका संस्थापक संखुवाधर शाक्यले सत्य, श्रम र मानवताको आदर्श स्थापित गरेको उल्लेख गर्नुभयो। उहाँले सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा मन्दिर परिसरमा घेराबार निर्माण र संखुवाधर शाक्यको मूर्ति स्थापना कार्य सुरु हुने जानकारी दिनुभयो।

त्यसैगरी, नगर उपप्रमुख जोगराम चौधरीले बेलौरी नगरपालिका सबै धर्म, भाषा र संस्कृतिप्रति समान सम्मान राख्ने नीतिमा अघि बढिरहेको बताउनुभयो। सीमित बजेटका बाबजुद सांस्कृतिक संरक्षणका काममा नगरपालिकाको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्य अतिथि नगर प्रमुख पोतिलाल चौधरीले नेपाल विविधता र एकताको सुन्दर प्रतीक भएको बताउँदै स्थानीय तहबाट संस्कृति संरक्षणका हरेक प्रयासमा नगरपालिकाको सहयोग निरन्तर रहने आश्वासन दिनुभयो।

कार्यक्रममा नेवाः दबू केन्द्रीय सदस्य पुनम श्रेष्ठ, सुदूर पश्चिम कार्य समितिका सचिव भीम श्रेष्ठ, पुनर्वास नगर कार्य समितिका अध्यक्ष तिलकुमार श्रेष्ठ, नगर समन्वय परिषद् बेलौरीका अध्यक्ष कृष्ण चौधरी, साथै स्थानीय सञ्चारकर्मी र बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष सुरज श्रेष्ठले नेपाल संवतले भाइचाराको सन्देश दिने पर्व भएको बताउँदै उपस्थित सबै अतिथिहरूप्रति आभार प्रकट गर्नुभयो। कार्यक्रमको संयोजन मिरा श्रेष्ठले गर्नुभएको थियो।

बेलौरीमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय तहमा सांस्कृतिक विविधताको सम्मान र संरक्षणमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply