कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले शपथ ग्रहण गर्दै कार्यकाल सुरु

हेमन भट्ट, २ कार्तिक २०८२
धनगढी – सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको आकर्षक व्यवसायिक केन्द्र अनारघडी आज उद्योगी, व्यापारी, पत्रकार, सुरक्षाकर्मी र स्थानीय प्रतिनिधिहरूको बाक्लो उपस्थितिका कारण उत्सवमय स्थलमा परिणत भयो। अवसर थियो — कैलाली उद्योग वाणिज्य संघको नव–निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम।

“उद्योग, पर्यटन, जैविक एवम् सांस्कृतिक विविधतामा धनी, व्यवसायिक तथा गुणस्तरीय जीवनमा नेपालकै अग्रणी” भन्ने मूल नाराका साथ संघको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु गरिएको हो।

कार्यक्रम संघका महासचिव ओमबहादुर विष्टको स्वागत मन्तव्यबाट सुरु भयो। उनले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण मतदाता, व्यवसायी, पत्रकार, सुरक्षा निकाय र समर्थकप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए। कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख दिनेशराज ओझाले गरेका थिए।

नव–निर्वाचित टिमको शपथ ग्रहण समारोह संघका निवर्तमान अध्यक्ष पुष्पराज कुवरको सभापतित्वमा सम्पन्न भयो। निर्वाचन समितिका संयोजक पदम कुवरले नव–निर्वाचित अध्यक्ष पुष्कर ओझासहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराए।

शपथ ग्रहणपछि पूर्व अध्यक्ष कुवरले आभार ज्ञापन गर्दै भने,
“संघको गौरवपूर्ण इतिहासलाई नयाँ नेतृत्वले निरन्तरता दिनेछ भन्ने विश्वास लिएको छु।”

त्यसपछि उनले नव–निर्वाचित अध्यक्ष ओझालाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरे। कार्यक्रममा पूर्व समिति सल्लाहकारहरूलाई सम्मानसमेत गरिएको थियो।

नव–निर्वाचित अध्यक्ष पुष्कर ओझाले व्यवसायिक समुदायको हित, औद्योगिक विस्तार, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजार सञ्जाल सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
उनले भने,

“कैलाली उद्योग वाणिज्य संघ व्यवसायीहरूको साझा घर हो। हाम्रो कार्यशैली निष्पक्षता, पारदर्शिता र सहकार्यमा आधारित हुनेछ। संघ व्यवसायिक सुरक्षादेखि सामाजिक उत्तरदायित्वसम्मका हरेक क्षेत्रमा सक्रिय हुनेछ।”

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला–नगर तर्फका उपाध्यक्ष श्रीकृष्ण वैध थिए।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, प्रहरी उपरीक्षक नरेन्द्र चन्द, पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्रलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार र स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।
अतिथिहरूले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सुदूरपश्चिमको आर्थिक विकास र व्यवसायिक उत्थानमा संघले नेतृत्वकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

शपथ ग्रहणपछि बसेको संघको पहिलो बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ— धन्यवाद ज्ञापन: निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण मतदाता, व्यवसायी, सुरक्षा निकाय, पत्रकार तथा निर्वाचन समितिलाई औपचारिक धन्यवाद दिने।

दुर्घटना बीमा योजना: संघका सबै सदस्य व्यवसायीहरूको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने।

नियमित बैठक: संघको बैठक प्रत्येक महिनाको ५ गते नियमित रूपमा बस्ने।

कार्यक्रमस्थल अनारघडी बजार क्षेत्र बिहानैदेखि व्यवसायी र अतिथिको आगमनले चहलपहलमय बनेको थियो। रंगीन झण्डा, आकर्षक सजावट, संगीत र आत्मीय स्वागतले सम्पूर्ण वातावरण उत्सवमय बनेको थियो। व्यवसायिक समुदायले नयाँ नेतृत्वप्रति आशा र विश्वास व्यक्त गर्दै “कैलालीलाई सुदूरपश्चिमको आर्थिक राजधानी बनाउने” संकल्प जनाएका थिए।

समापनमा आभार र आशा कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष पुष्पराज कुवरले आफ्नो कार्यकालमा साथ दिने सबैप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्वलाई सुभकामना दिए।
उनले भने,
“संघको सशक्त भविष्य यही टिमको हातमा छ। निरन्तर सहकार्य र एकताको भावना नै हाम्रो सबलता हो।”

प्रमुख अतिथि र अन्य उपस्थित अतिथिहरूले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिँदै कार्यक्रम सम्पन्न गरिएको थियो।

कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति केवल पदाधिकारीहरूको हेरफेर मात्र होइन, सुदूरपश्चिमको व्यवसायिक आत्मविश्वासको नयाँ अध्याय हो।
उद्योग, पर्यटन र सांस्कृतिक विविधतामा समृद्ध कैलाली अब गुणस्तरीय जीवन र व्यवसायिक विकासमा नेपालकै अग्रणी बन्ने यात्रामा दृढतापूर्वक अघि बढ्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply