धर्ममार्फत समानता : गणेशप्रसाद पन्तको संघर्ष र समर्पणको यात्रा

कार्तिक ०४
बैतडी — सुदूरपश्चिमको बैतडी जिल्ला, पाटन नगरपालिका–८ खोड्पे जसुलीखालीका संस्कारशिरोमणि ज्योतिषाचार्य, वेदाचार्य, वास्तुविद तथा पञ्चाङ्गकार गणेशप्रसाद पन्त विगत २६ वर्षदेखि दलित समुदायका घर–घरमा वैदिक संस्कार सञ्चालन गर्दै आएका छन्।
जातीय विभेद र अछुताको परम्परागत जरा उखेल्दै उनले धर्मलाई समानताको माध्यम बनाएका छन्।

मलाई धेरै पटक ज्यान मार्ने धम्की दिइयो, तर मैले दलित समुदायको परम्परा अन्त्य हुन दिएको छैन,” पन्त भन्छन्, “धर्मकै माध्यमबाट मात्र समाजलाई साँचो समानताको बाटोमा लैजान सकिन्छ।

पन्तले अहिलेसम्म दलित बस्तीमा १,१४७ भन्दा बढी वैदिक संस्कार सम्पन्न गरिसकेका छन्।
तीमध्ये २९ साप्ताहिक नवाह पूजा, १३ शिवपुराण पारायण, ६१ लघु रुद्राभिषेक, सत्यनारायण कथा, ग्रहशान्ति अनुष्ठान, शतचण्डी यज्ञ र अखण्ड रामायण पारायणजस्ता कार्यक्रम समावेश छन्।

त्यस्तै उनले नामकरण, व्रतबन्ध, विवाह, गृहप्रवेश, वास्तु पूजा लगायतका वैदिक संस्कार पनि दलित समुदायभित्र सञ्चालन गर्दै आएका छन्। धार्मिक संस्कारको क्रममा उनले पहिलोपटक आचार्य कृष्ण दमाईसहित १४७ जनालाई वैदिक परम्पराअनुसार पवित्र जनै लगाएर दीक्षित गराएका थिए।

पन्तको भनाइमा, “शास्त्रमा कतै पनि जात, लिङ्ग वा वर्गको आधारमा विभेदको प्रावधान छैन। छाउपडी र जातीय विभाजन शास्त्रीय होइन, सामाजिक कुरीति हो।”
उनी दलित बस्तीमा पूजा गर्न मात्र होइन, त्यहाँका परिवारसँगै खाना खान समेत पुग्छन्, जसले उनको धार्मिक समावेशिताको अभियानलाई अझ गहिरो अर्थ दिएको छ।

उनका ५७५ भन्दा बढी यजमान र संरक्षकहरूले उनलाई त्यागे पनि पन्त आफ्नो बाटोबाट विचलित भएका छैनन्। सामाजिक सञ्जालमा हुने आलोचना र अपमानबीच पनि उनी अझ सशक्त रूपमा “धर्ममार्फत समानता” को संदेश फैलाइरहेका छन्।

हाल उनी श्री बनारसिधाम विश्वनाथ ज्योतिर्लिंग मन्दिरका पिठाधीश्वर, धार्मिक प्रबक्ता, कोषाध्यक्ष तथा मुख्य पुजारी हुन्।
पन्त अहिले प्रत्येक हिन्दू घरमा वेद, पुराण, शालिग्राम, तुलसी मठ, शंख–घण्टी र पंचायतन देवताको मूर्ति राख्ने अभियान सञ्चालन गरिरहेका छन्।

“शास्त्र अनुसार पुरुष र स्त्री मात्रै मानवताको वर्ग हुन्, बाँकी सबै विभाजन मानिसको मनको सिर्जना हो,” उनी भन्छन्।
उनको भनाइमा, समाज परिवर्तनसँगै मनुस्मृतिजस्ता ग्रन्थ पनि समयअनुसार परिमार्जन हुनुपर्छ।

उनको संघर्ष र अभियान अहिले भारतको गोर्खापत्र सन्देश र बंगलादेशका मिडियाहरूमा समेत चर्चामा छ।
अब उनी भन्छन्, “म एक्लो छैन।”
यस अभियानमा अहिले साहित्याचार्य कृष्णबहादुर दमाई, बलराम धामी, आचार्य मदन शर्मा शास्त्री, वैदिक पुरोहित सुरेश पार्की, सनातनी आर्य लगायत थुप्रै ब्राह्मण र धार्मिक अगुवाहरू जोडिएका छन्।

दलित र गैरदलित दुवै समुदायको संयुक्त प्रयासमा आधारित यो आन्दोलन अहिले धार्मिक समानता र सामाजिक एकताको नयाँ अध्याय बन्दै गएको छ।
सुदूरपश्चिममा मात्रै ११ जना गुरुहरू सक्रिय छन् भने देशभर हाल १७७ जना वैदिक गुरुहरू यस अभियानमा संलग्न छन् — जसमा ६५% शिल्पकार, ७% वैश्य, ११% क्षेत्री, ९% ठकुरी र बाँकी अन्य समुदायका पण्डितहरू छन्।

गणेशप्रसाद पन्तको यो यात्रा केवल पूजा वा संस्कारको कथा होइन —यो समानताको धर्मयुद्ध हो, जसले सदियौंको विभाजनलाई वेदको उज्यालोमा पगाल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply