कात्तिक ७
मानिसको खुट्टाले स्वास्थ्यका धेरै लुकेका सङ्केतहरू दिन्छन्, जसलाई हामी प्रायः बेवास्ता गर्छौँ। खुट्टामा निरन्तर सुन्निने, चिसो रहने वा औँला र गोलीगाँठामा घाउ निको नहुने जस्ता समस्याहरू मुटु र रक्तनलीसम्बन्धी गम्भीर रोगहरूको लक्षण हुन सक्छन्।
विशेषगरी, खुट्टा सधैँ चिसो रहनुलाई हल्का रूपमा लिनु हुँदैन, किनभने यसको सम्बन्ध सिधै मुटुसँग जोडिएको हुन्छ। यही कारणले गर्दा खुट्टाको काफ मसललाई दोस्रो मुटु पनि भनिन्छ।
इन्डियन एक्सप्रेसको एक रिपोर्टमा, एनेस्थेसिया र पेन मेडिसिन विशेषज्ञ डा. कुणाल सूदले तल्लो अंगहरूमा हुने परिवर्तनहरू मुटुको आन्तरिक अवस्थाको प्रतिबिम्ब हुन सक्ने बताएका छन्। उनले खुट्टामा देखिने परिवर्तनहरूले मुटु, रक्तनली वा रक्तसञ्चारमा के भइरहेको छ भन्ने कुरा दर्साउने जानकारी दिए।
खुट्टामा सुन्निने र चिसोपन
डा. सूदका अनुसार यदि खुट्टाका नसाहरू नीलो र उठेका देखिन थाले भने, यो भेरिकोज भेन्स (Varicose Veins) को सङ्केत हुन सक्छ। यो अवस्था तब आउँछ जब नसाका भल्भहरू कमजोर हुन्छन् र रगतको प्रवाह सही दिशामा हुन पाउँदैन। गोलीगाँठामा दुवैतिर निरन्तर सुन्निने रहेमा र लामो समयसम्म उभिएर बस्दा भारीपन वा दुखाइ महसुस भएमा, यो क्रोनिक भेनस डिजिजको लक्षण हुन सक्छ।
त्यस्तै, यदि खुट्टाहरू लगातार चिसो रहन्छन्, पहेंलो हुन्छन् वा हिँड्दा दुखाइ महसुस हुन्छ भने, यो पेरिफेरल आर्टरी डिजिज (पीएडी) को निशानी हुन सक्छ। यसमा धमनीहरू साँघुरो हुन्छन्, जसले गर्दा खुट्टासम्म रगतको प्रवाह कम हुन्छ र दुखाइ वा ऐँठन हुन्छ।
एकै खुट्टा सुन्निने
यदि एउटा मात्र खुट्टा वा पिँडुला रातो, तातो वा सुन्निएको महसुस भएमा, यो भेनस अब्स्ट्रक्सन (नसामा अवरोध) को सङ्केत हुन सक्छ, जुन धेरै खतरनाक हुन्छ। डा. सूदका अनुसार यस्तो अवस्थामा एकतर्फी सुन्निने, न्यानोपन र नरमपन हुन्छ, जसले रगतका नलीहरूमा अवरोध पुर्याउन सक्छ। यो लामो समयसम्म गतिहीन रहनु, गर्भावस्था वा आनुवंशिक क्लटिङ डिसअर्डरका कारण हुन सक्छ।
यस्तो अवस्थामा औँला वा गोलीगाँठामा बनेका निको नहुने घाउहरूलाई बेवास्ता गर्नु हुँदैन। जब शरीरमा रक्तसञ्चार र अक्सिजनको आपूर्ति घट्छ, तब साना घाउहरू पनि छिटो निको हुँदैनन्। यो पीएडीको गम्भीर सङ्केत हो र ध्यान नदिएमा ग्याङ्ग्रिन जस्तो अवस्था सिर्जना हुन सक्छ।
सही खानपानले रक्तसञ्चारमा सुधार
पीएसआरआई अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रवि प्रकाशले खानपानले मुटु र रक्तनलीको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने र रगतको सर्कुलेसन सुधार्न सकिने बताएका छन्। पीएडीजस्ता रोगहरूको जोखिम घटाउन ओमेगा-३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र फाइबर युक्त आहारको सेवन गर्नुपर्छ।
उनले साल्मन र म्याकरल जस्ता माछाहरू, ओखर, अलसीको बीउ र जैतुनको तेलले धमनीहरूमा बोसो जम्नबाट रोक्ने र रक्तप्रवाहलाई सुधार गर्ने बताए। पालुङ्गो, बेरीज र सुन्तला जस्ता सिट्रस फलहरूमा पाइने भिटामिन सी, ई र फोलेटले नसाहरूको लचकता कायम राख्छन्।
डा. प्रकाशले खुट्टा सुन्निएमा खानेकुरामा नुनको मात्रा कम गर्न सल्लाह दिएका छन्। यसको सट्टा केरा, एभोकाडो, पालुङ्गो र सखरखण्ड जस्ता पोटासियमयुक्त खाना खाने र पर्याप्त पानी पिउनु पनि आवश्यक छ।
साथै, अङ्गुर, प्याज, ग्रीन टी र सिट्रस फलहरूले नसाहरूलाई बलियो बनाई रगतलाई मुटुसम्म फर्काउन मद्दत गर्छन्।
