धनगढी — बिष्ट कल्याणकारी समाजले यही कात्तिक २२ गते आयोजना गर्ने रक्तदान कार्यक्रमको तयारी तीव्र बनाएको छ। सोमबार बसेको समाजको बैठकले तयारी र व्यवस्थापनका लागि आवश्यक जिम्मेवारी बाँडफाँड गरेको हो।
समाजका अध्यक्ष मदन सिंह बिष्टको अध्यक्षतामा बसेको बैठकले शनिबार बिहान ९ बजेदेखि माया मेट्रो अस्पताल नजिकै हुने कार्यक्रमका लागि टेन्ट व्यवस्थापन धनगढी–४ बोराडाँडीका जगदीश बिष्ट, पानी र जुस व्यवस्थापन धनगढी–८ क्याम्पस चोकका धर्मराज बिष्ट र फलफूल व्यवस्थापन धनगढी–३ का राजेन्द्र बिष्टलाई जिम्मा दिएको सचिव पदम बिष्टले जानकारी दिए।
बैठकले रक्तदान कार्यक्रमलाई सफल बनाउन सरोकारवालाहरूसँग पत्राचार गर्ने निर्णय समेत गरेको छ। साथै, आर्थिक सहयोग माग गर्ने व्यक्ति वा संस्थाले सचिवमार्फत औपचारिक जानकारी गराउनुपर्ने र सो जानकारी समाजको मेसेन्जर पेजमार्फत प्रकाशित गरिने निर्णय गरिएको छ।
समाजले स्वतन्त्र रूपमा पठाइएका अनुरोधहरूलाई औपचारिक मान्यता नदिइने स्पष्ट पारेको छ। अपुग बजेट समाजको कोषबाट व्यहोर्ने निर्णय पनि गरिएको बैठकले जनाएको छ।
सचिव पदम बिष्टले सबै सदस्य र शुभेच्छुकहरूलाई साथ, सहयोग र सुझावका लागि धन्यवाद व्यक्त गर्दै, रक्तदान कार्यक्रमलाई सफल बनाउन एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।
