राजघाटको पुलले सोध्छ — जिम्मेवार को

हेमा भट्ट, कार्तिक ११
कञ्चनपुर – कृष्णपुर नगरपालिका–९ राजघाट क्षेत्र हुँदै जोडिने मोहना पुल अहिले मानिसभन्दा पनि चौपायाको बासस्थान बन्न थालेको छ। लामो प्रतीक्षापछि बनेको यो पुल आजभोलि गाई, गोरु र बाच्छा–बाच्छीहरूको स्थायी वासस्थानझैँ देखिन्छ।

राजघाट, चपरतला, घोडाघाट, पिपरिया र बिचवा आसपासका बासिन्दाहरूका अनुसार गाउँका सडक र पुल क्षेत्रभरि छाडा चौपाया विचरण गर्न थालेपछि यातायातमा अवरोध, दुर्घटनाको जोखिम र वातावरणीय फोहोर बढ्दै गएको छ।
साँझ परेपछि चौपायाहरू पुलमा समातेर बस्ने, बिहान घाम झुल्केपछि मात्रै आहार खोज्न हिँड्ने गरेको स्थानीयहरू बताउँछन्।

बासस्थान अभाव प्रमुख कारण- स्थानीय बासिन्दा तिर्थमान चौधरी भन्छन्, “गाई–गोरुका लागि उचित बासस्थान नभएकाले सबै सडक र पुलतिर आउँछन्। नगरपालिका वा सरकारको पहल नभएसम्म समस्या झन् बढ्दै जान्छ।”

राजघाट–मोहना पुलले धनगढी उपमहानगरपालिका–३ चटकपुर र कृष्णपुर–९ राजघाटलाई जोड्छ। बिहानै विद्यालय जाने विद्यार्थी, किसान र दूध–सागसब्जी बेच्नेहरूलाई पुल पार गर्न कठिनाइ भएको विद्यार्थीहरूको गुनासो छ — “पुलमा चौपाया हुल लागेपछि आवतजावत निकै जोखिमपूर्ण हुन्छ।”

पशुपालनको सोचमा समस्या-दूध उत्पादन गर्ने बेलासम्म स्याहार पाउने गाई–गोरु दूध दिन छाडेपछि सडकमा छाडिने गरेका छन्।
स्थानीय युवती धौली विक भन्छिन्, “हामीले पशुपालनलाई जिम्मेवारी होइन, स्वार्थको रूपमा हेर्छौं। गाई–गोरु सडकमा छन्, भैंसी र राँगा किन छैनन् भन्ने सोच्नुपर्छ — यो हाम्रो सामाजिक सोचको प्रतिबिम्ब हो।”

दुर्घटनाको जोखिम बढ्दै-हालै मात्र पुल क्षेत्रमा दुई साना दुर्घटना भएका छन्। चालकहरूले राति चौपाया अड्किएका कारण गाडी रोक्नु परेको थियो।
स्थानीयहरू चेतावनी दिन्छन् — “यदि छिट्टै व्यवस्थापन भएन भने ठूलो दुर्घटना हुन सक्छ।”

व्यवस्थापनको माग-स्थानीयहरूले छाडा चौपायाका लागि गोशाला वा बासस्थान निर्माण, पशु दर्ता प्रणाली र सडक निगरानी कडाइ गर्न माग गरेका छन्।
राज्य र नागरिक दुवैको जिम्मेवारी बिना समस्या समाधान सम्भव छैन भन्नेमा उनीहरूको जोड छ।

राजघाट–मोहना पुल जसले विकास र जोड्ने प्रतीक बन्नुपर्ने थियो, अहिले लापरवाही र जिम्मेवारीहीनताको प्रतीक बन्दै गएको छ।
राजघाटका बासिन्दा कृष्ण भट्ट भन्छन्, “हामीले आफैंलाई प्रश्न गर्नुपर्छ — किन गाई–गोरु सडकमा छाड्छौं? किन थाइ बासस्थान बनाउँदैनौं? चौपायाको समस्या हाम्रो जिम्मेवारी पनि हो।”

तिहारमा गाई–गोरु पूजा गर्छौं, तर जिम्मेवारीबाट पन्छिन्छौं — यही विडम्बना हो। अब प्रश्न छ, राज्य कहिले जिम्मेवार बन्छ? र हामी कहिले चेतिन्छौं?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply