डडेल्धुरा, कार्तिक २४ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र अब वैचारिक बहस सुरु गर्ने समय आएको बताउनुभएको छ।
सोमबार डडेल्धुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीलाई चलायमान र सुदृढ बनाउन महासमितिका सदस्यहरूबीच वैचारिक छलफल र संवाद अत्यावश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले हालको परिस्थितिमा विशेष महाधिवेशनको माग उठाउनेभन्दा आन्तरिक संवाद र समन्वयमार्फत समाधान खोज्नु उपयुक्त हुने धारणा राख्नुभयो।


मुख्यमन्त्री शाहले भन्नुभयो, “केही सीमित व्यक्तिहरू नेतृत्व कब्जा गर्न विशेष महाधिवेशनको पक्षमा छन्, तर यसले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा पुर्याउँदैन।”
उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु देउवा राणाविरुद्ध भइरहेको विरोधप्रति पनि प्रतिक्रिया जनाउँदै भने, “देउवा र राणालाई सिध्याउँछु भन्ने दिवा सपना मात्र हो। पञ्चहरूले पञ्चायतकालमा सिध्याउन सकेनन्, माओवादीले गोली प्रहार गरेर पनि सकेनन्, र जेन्जि आन्दोलनका क्रममा उहाँमाथि भएको सांघातिक आक्रमणले पनि उहाँलाई विचलित पार्न सकेन।”


सोही दिन मुख्यमन्त्री शाहले बैतडीको पाटन नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूसँग भेटघाट गर्नुभएको थियो। उक्त भेटमा नगरपालिकाको विकास, करार कर्मचारी व्यवस्थापन र स्थानीय सेवा सञ्चालन ऐनबारे विस्तृत छलफल भएको थियो।
त्यसपछि उहाँले पाटन नगरपालिका–९, सिद्धेश्वर हुक्केडाँडास्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालय र विद्यालयले सञ्चालन गरेको छात्रावासको समेत निरीक्षण गर्नुभयो। वि.सं. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल २१० जना विद्यार्थी अध्ययनरत छन्।









