डोटी, कार्तिक २५
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुशासन र पारदर्शिताको आधार नै संस्थागत सुदृढीकरण भएको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि सबल संस्था र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्।
मंगलबार डोटीमा आयोजित पालिका प्रमुखहरू, संघ–प्रदेश–स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले पुराना राजनीतिक दलहरूले संवैधानिक निकाय र राजदूत नियुक्तिमा राजनीतिक हस्तक्षेप गर्दै आएको प्रथालाई वर्तमान सरकारले पनि दोहोर्याएको भन्दै आलोचना गरे।
उहाँले ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई हटाई मनोज सिलवाललाई नियुक्त गर्ने निर्णयले पुनः राजनीतिक भागबण्डा दोहोरिएको पुष्टि भएको टिप्पणी गरे। मुख्यमन्त्री शाहले स्मरण गराए, “केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याएको थियो। अहिले कुलमान ऊर्जामन्त्री बनेपछि फेरि शाक्यलाई हटाइएको छ, जसले पुरानै अभ्यासलाई निरन्तरता दिएको छ।”

उहाँले थप भने, “यदि हामीले योग्य, ईमानदार र प्रतिस्पर्धाबाट छनोट भएका व्यक्तिलाई जिम्मेवारी दिन सक्यौं भने मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ। त्यसका लागि सबै तहका नेतृत्व प्रतिबद्ध हुनुपर्छ।”
मुख्यमन्त्री शाहले हालैका राजनीतिक गतिविधिहरू र जनआन्दोलनप्रति पनि टिप्पणी गर्दै भने, “सरकार र संविधान छँदैछ भन्ने सन्देश जनतामा पुगोस् भन्ने हेतुले म प्रदेशका विभिन्न जिल्लामा पुगेको छु। जेन्जी आन्दोलन अकल्पनीय थियो, अब सबैले आ–आफ्नो ठाउँबाट सच्चिनु जरुरी छ।”
उहाँका अनुसार, राजनीतिक र प्रशासनिक नेतृत्वबीचको समन्वय र हातेमालोले मात्र सुशासन, पारदर्शिता र विकास सम्भव हुन्छ। प्रदेश सरकारको नीति तथा कार्ययोजनाको उल्लेख गर्दै उहाँले प्रदेश निजामती सेवा ऐन एक वर्षभित्र जारी गरेको र त्यसपछि स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन ल्याइएको जानकारी दिए।
मुख्यमन्त्री शाहले अन्त्यमा भने, “हाम्रो मुख्य नीति नै सुशासन र भ्रष्टाचारमुक्त शासन हो। त्यसका लागि संस्थागत सुदृढीकरण, स्पष्ट जवाफदेहिता र पारदर्शी निर्णय प्रणाली अपरिहार्य छ।”
कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, प्रशासनिक अधिकारी तथा सुरक्षाकर्मीहरूको उपस्थिति थियो। छलफलमा सहभागीहरूले पनि प्रदेश सरकारसँग सुशासन र पारदर्शिताको अभ्यासलाई अझ मजबुत बनाउन सुझाव दिएका थिए।
