प्रगति टोल–शान्तिनगर जोड्ने बलवान सडकको ट्र्याक खुल्यो

हेमा भट्ट, कञ्चनपुर, कार्तिक २७
कृष्णपुर नगरपालिकाले स्थानीय आवागमन सहज बनाउन एक महत्वपूर्ण पूर्वाधार विकास गर्दै राजघाट खानेपानी प्रगति टोल हुँदै बालुवा नाला, सैनाल देवता मन्दिर नजिक हुँदै शान्तिनगर जोड्ने बलवान सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको छ। लामो समयदेखि स्थानीयवासीहरूको माग रहेको यो सडक खुलेसँगै अब क्षेत्रका बासिन्दालाई सहज यातायात सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ।

सडक ट्र्याक निर्माण कार्य नगर प्रमुख हेमराज ओझा र वडा अध्यक्ष कैलाश बलायरको सक्रिय नेतृत्वमा सम्पन्न भएको हो। नगरपालिकाले आफ्नै स्रोत साधन र स्थानीय जनशक्ति प्रयोग गर्दै मेसिनमार्फत निर्माण कार्य सम्पन्न गरेको जनाएको छ।

नगर प्रमुख ओझाले स्थलगत निरीक्षणका क्रममा भने, “जनताको सक्रिय सहभागिताबिना विकास सम्भव हुँदैन। यो सडक ट्र्याक हाम्रो सहकार्य र एकताको प्रतीक हो। नगरपालिकाले जनताको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै प्रत्येक वडामा आधारभूत पूर्वाधार विकासमा जोड दिएको छ।”

त्यस्तै वडा अध्यक्ष बलायरले पनि जग्गा उपलब्ध गराउने जग्गाधनीहरूलाई धन्यवाद दिंदै भने, “यो सडकले न केवल आवागमन सहज बनाउनेछ, बरु यसले व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत पहुँच विस्तार गर्नेछ। यो हाम्रो वडाको दीर्घकालीन विकास योजनाको महत्वपूर्ण हिस्सा हो।”

स्थानीय बासिन्दाहरूले पनि सडक खुलेपछि खुशी व्यक्त गरेका छन्। स्थानीय पार्वती विक भन्छिन्, “हामी वर्षौँदेखि हिँडडुल र सामान ढुवानीमा धेरै कठिनाइ भोग्दै आएका थियौँ। झाडी, हिलो र जंगली जनावरका कारण खेतीपातीमा समस्या थियो। अब सडक खुलेपछि खेती र दैनिक आवागमन सहज भएको छ।”

नगरपालिकाका अनुसार यो सडकले राजघाट क्षेत्रदेखि शान्तिनगरसम्मको सम्पर्क सञ्जाल विस्तार, व्यापारिक गतिविधि वृद्धि, र सामाजिक सम्बन्ध सुदृढ बनाउन सहयोग पुर्‍याउनेछ। साथै, यसले स्थानीय कृषि उत्पादन बजारसम्म पु-याउन सजिलो बनाउने र युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख ओझा र वडा अध्यक्ष बलायरले निरीक्षणका क्रममा सडक निर्माणमा सहयोग गर्ने सबै स्थानीयवासीप्रति आभार व्यक्त गरेका छन्। स्थानीय समुदायको उत्साह र सहकार्यका कारण परियोजना निर्धारित समयमा सम्पन्न गर्न सफल भएको जनाइएको छ।

नयाँ खुलेको सडक ट्र्याक केवल भौतिक पूर्वाधारको निर्माण मात्र होइन, सहकार्य, एकता र सामुदायिक विकासको प्रतीकको रूपमा समेत हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply