कैलालीको गोदावरीमा १५औँ राष्ट्रपति रनिङ शिल्ड: मंसिर १६ देखि सुरु, दुर्गालक्ष्मी माविमा चारदिने प्रतिस्पर्धा

मंसिर २
कैलालीको गोदावरी नगरपालिका आगामी मंसिर १६ गतेदेखि १९ गतेसम्म १५औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ। सोमबार बसेको प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले चार दिनसम्म चल्ने खेलकुद महोत्सवलाई औपचारिक रुपले अनुमोदन गरेको हो।

यस वर्षको प्रतियोगिता गोदावरी–२ स्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा आयोजना हुने शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले जानकारी दिए। उनका अनुसार प्रतियोगितालाई सफल बनाउन आवश्यक पूर्वतयारी तीव्र रूपमा अघि बढाइएको छ।

प्रतियोगितामा सहभागिता जनाउन नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई मंसिर १० भित्र विद्यार्थी खेलाडीहरूको नामावली तथा सम्बन्धित खेलकुद शिक्षकको विवरण शिक्षा शाखामा बुझाउन निर्देशन दिइएको छ।

चारदिने रनिङ्ग शिल्डमा यसपटक भलिबल, कबड्डी, एथलेटिक्सअन्तर्गत विभिन्न दौड, उफ्रने तथा फ्याँक्ने प्रतिस्पर्धा (हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो) समावेश छन्। साथै मार्सल आर्ट विधामा कराँते, तेक्वान्दो र उसुका स्पर्धा सञ्चालन गरिनेछ।

गोदावरी नगरपालिकाले स्थानीय प्रतिभा र विद्यालयस्तरीय खेलकुद विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितालाई यस वर्ष अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply