हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका–९ मा युवा एकता अभियानले “फुटेर होइन, जुटेर जाऔँ—आफ्नो गाउँ आफैं बनाउने हो” नारासहित मंसिर ६ गते सम्मान तथा प्रशंसा कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय जनप्रतिनिधि, शिक्षक, समाजसेवी, अभिभावक तथा युवाको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा शिक्षा र युवा विकासमा केन्द्रित विभिन्न गतिविधि सञ्चालन गरियो।


अध्यक्ष, प्रमुख तथा विशिष्ट अतिथिको सहभागिता- कार्यक्रमको अध्यक्षता इन्द्र देव बोहराले गरेका थिए।
नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका भए पनि विशिष्ट अतिथिका रूपमा कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायर, प्रेम बलायर, लेखराज जोशी, प्रअ गणेश दत्त भट्ट, अन्तर्राष्ट्रिय खो–खो खेलाडी जोगेन्द्र राना, खुश्बु राना, लालबहादुर चौधरी, गणेश ऐर, निरज भण्डारी र दुर्गा ओझा उपस्थित थिए। उपस्थितिहरूले अभियानले समुदायमा युवा नेतृत्व, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र सहकार्यको संस्कृति बलियो बनाइरहेको मूल्यांकन गरे।


SEE उत्तीर्ण ११ विद्यार्थी सम्मानित- रिभर साइड स्पोर्ट्स क्लबसँगको सहकार्यमा सञ्चालित Night Penalty Shootout कार्यक्रमसँगै पञ्चाधीन माध्यमिक विद्यालयका ११ जना SEE उत्तीर्ण विद्यार्थीलाई प्रमुख अतिथिद्वारा सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानित विद्यार्थीहरूमा—पायल सुनार, पूजा स्याडा, रोजिना विक, पूर्णिमा साउद, चन्द्र बिष्ट, साधना चौधरी, अनिल बिष्ट, सुमन चौधरी, गणेश स्याडा, सेतु महरा र कृष्णा चौधरी—समावेश छन्।


युवाहरूको शैक्षिक मेहनतलाई गरिएको कदरले विद्यार्थी तथा अभिभावक दुवै उत्साहित भएका थिए।
सल्लाहकारलाई प्रशंसा–पत्र- अभियानका सल्लाहकारहरूलाई युवा विकासमा देखाएको सक्रियता, समुदायप्रतिको प्रतिबद्धता र नेतृत्व क्षमताको कदरस्वरूप प्रशंसा–पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। आयोजकका अनुसार युवाभिमुख कार्यक्रमलाई दिगो बनाउन सल्लाहकारहरूको भूमिका महत्वपूर्ण रहेको छ।


नगर प्रमुख ओझाका सुझाव र प्रतिवद्धता- कार्यक्रममा बोल्दै नगर प्रमुख हेमराज ओझाले युवा सक्रियता, एकता र सामुदायिक भावनालाई प्रशंसनीय भन्दै युवासँग मिलेर नगरपालिकाले सकारात्मक गतिविधिमा निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गरे।


ओझाले भने—“युवा जुटे गाउँ बदलिन्छ। शिक्षा, खेलकुद र सामाजिक एकतामा युवाको ऊर्जा देखिनु स्थानीय नेतृत्वका लागि प्रेरक छ।”उनले प्रस्तुत गरेका मुख्य बुँदाहरू—शिक्षा सुधार र उद्देश्यसहितको आन्दोलन आवश्यक उद्देश्यविहीन गतिविधिले नगरका विकास योजनामा बाधा पुग्ने, हालैको आन्दोलनले २५ करोड बजेट कटौती भएको उल्लेख लागुऔषध नियन्त्रणमा अभिभावकको सचेतता अपरिहार्य सिकलसेल न्यूनीकरणमा नगरपालिका जिम्मेवारीपूर्वक कार्यक्रम अगाडि बढाइरहेको जानकारी चौपाया व्यवस्थापन सामुदायिक कर्तव्य, “पालेर फाल्ने” प्रवृत्ति अन्त्य गर्न आग्रह वडा तथा नगरस्तरका समस्याका समाधानका लागि प्रहरी चौकी छिट्टै स्थापना हुने युवालाई सशक्त बनाउन विभिन्न कार्यक्रमलाई निरन्तर सहयोग।


अन्य अतिथिहरूका अभिमत
प्रेम बलायर- “सेवा गर्नेहरूको कदर गर्नु नै ठूलो प्रेरणा हो। अभियानले नयाँ पुस्तामा अनुशासन र देशप्रेम जागृत गरेको छ।”
लेखराज जोशी- “युवा नै राष्ट्रको विशेष शक्ति हुन्। उनीहरूलाई उद्देश्यसहित अघि बढाउनुपर्ने आवश्यकता आज झनै बढी छ।”


प्रअ गणेश दत्त भट्ट- “शिक्षक, अभिभावक र समुदायको सामूहिक प्रयासविना विद्यार्थीको भविष्य उज्यालो हुँदैन। विद्यालय शिक्षाको थलो हो, राजनीति गर्ने स्थान होइन।”
लालबहादुर चौधरी- “अभियान निरन्तर र प्रभावकारी रूपमा अगाडि बढिरहेको देखेर खुसी लागेको छ।”


कार्यक्रम सञ्चालन तथा प्रस्तुति- कार्यक्रमको स्वागत मन्तव्य सल्लाहकार मदन रोकायाले प्रस्तुत गरेका थिए।
अनुभवी शिक्षक चन्द्रबहादुर महराले कार्यक्रम सञ्चालन गरे। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथिद्वारा ब्यानर वाचनमार्फत गरिएको थियो। सांस्कृतिक प्रस्तुति अन्तर्गत धनगढी डान्स च्याम्पियन सुमनिमा खड्काले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।


आयोजकको निष्कर्ष र प्रतिबद्धता- युवा एकता अभियान र रिभर साइड स्पोर्ट्स क्लबका प्रतिनिधिहरूले कार्यक्रमले—युवामा समुदायप्रतिको उत्तरदायित्व
विद्यार्थीमा आत्मविश्वास र प्रेरणा समाजसेवी तथा सल्लाहकारको योगदानप्रतिको कदर
विद्यालय–समुदाय–युवाबीचको सम्बन्ध थप प्रगाढ बनाएको बताउँदै आगामी दिनमा अझ लक्ष्यकेंद्रित, प्रभावकारी र दीगो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।


अभियानका पदाधिकारीहरूले युवाको भूमिका परिवर्तनको पहिलो ढोका भएको उल्लेख गर्दै समुदायमै आधारित नेतृत्व विकासका कार्यक्रमलाई निरन्तरता दिने आश्वासन व्यक्त गरेका थिए।






















