हेमा भट्ट, मंसिर ७
धनगढी — देशभरका वामपन्थी तथा प्रगतिशील राजनीतिक शक्तिहरूको हालै सम्पन्न एकीकरणपछि गठन भएको नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आगामी राजनीतिक कार्यक्रम, सन्देश सभा तथा समसामयिक राष्ट्रिय परिस्थितिबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
पार्टी एकीकरणपछि पहिलो चरणका कार्यक्रमहरू- पार्टीका अनुसार २०८२ साल कात्तिक १९ र २६ गते सम्पन्न बार्ह वाम–प्रगतिशील घटकहरूको एकीकरणपछि नयाँ संगठनात्मक संरचना तयार भएको छ। एकीकृत पार्टीलाई जनस्तरमा विस्तार गर्न मंसिर १२ गतेदेखि देशभर ‘पार्टी एकता सन्देश सभा’ सञ्चालन गरिने बताइएको छ।
यसअनुसार सुदूरपश्चिम प्रदेशको पहिलो सन्देश सभा धनगढीमा मंसिर १२ गते हुने छ। सो सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, साथै अन्य शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
पत्रकार सम्मेलनमा मंसिर ६ गते धनगढीमा आयोजित पार्टी तथा जनसंगठनका नेताहरूको भेलाबाट डा. भीम रावलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको जानकारी दिइयो। सन्देश सभालाई सफल बनाउने उद्देश्यले १३ उपसमितिहरू गठन गरिएको छ, जसले जनसम्पर्क, प्रचार प्रसार, भौतिक तथा आर्थिक व्यवस्थापन, सुरक्षा, आवागमन, मंच व्यवस्थापनलगायतका जिम्मेवारी निर्वाह गर्नेछन्।
प्रदेशस्तरीय कार्यक्रमपछि मंसिर महिनाभर प्रदेशका सबै जिल्ला, पालिका र वडास्तरमा पनि पार्टी एकता सन्देश सभाहरू सञ्चालन गरिने पार्टीले जनाएको छ।
देश जटिल तथा तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै पार्टीले राष्ट्रिय हित, स्वाधीनता, सार्वभौमिकता, अखण्डता र समृद्धिका लागि वाम–प्रगतिशील तथा देशभक्त शक्तिहरूको एकता समयको माग भएको धारणा व्यक्त गर्यो।
आगामी फागुन २१ गतेका लागि आम निर्वाचन घोषणा भइसकेको अवस्थामा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्नु सरकारको दायित्व हो भन्दै पार्टीले निर्वाचन व्यवस्थापनमा देखिएका कमजोरीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। विशेषगरी अन्तरिम सरकारले २३ र २४ गतेका गतिविधि संविधान र निर्वाचन व्यवस्थापनको मर्म विपरीत देखिएको आरोप लगाइएको छ।
पार्टीले सुदूरपश्चिमका सबै नेता–कार्यकर्ता तथा समर्थकहरूलाई मंसिर १२ गते धनगढीमा आयोजना हुने सन्देश सभामा सहभागिता जनाउन आग्रह गरेको छ।
भेला तथा प्रवेश व्यवस्थाबारे निम्न विवरण सार्वजनिक गरिएको छ—क्याम्पस रोड हुँदै आउने सहभागी — क्याम्पस रोड चोकमा
अन्य क्षेत्रबाट आउने सहभागी — चौराहा क्षेत्रमा
भेला समय : बिहान ११:३० बजे
जुलुस : पार्क मोड हुँदै रंगशाला
आमसभा : दिउँसो १२:३० बजे, रंगशालाको दक्षिणी चौरमा ।
