हेमा भट्ट, मंसिर ७
धनगढी — देशभरका वामपन्थी तथा प्रगतिशील राजनीतिक शक्तिहरूबीच हालै सम्पन्न ऐतिहासिक एकीकरणपछि गठन भएको नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आगामी राजनीतिक कार्यक्रम, ‘पार्टी एकता सन्देश सभा’ तथा समसामयिक राष्ट्रिय परिस्थितिबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
पार्टीद्वारा कात्तिक १९ र २६ गते सम्पन्न बार्ह वाम–प्रगतिशील घटकहरूको एकीकरणपछि नयाँ संगठनात्मक संरचना तयार भइसकेको जानकारी दिँदै, मंसिर १२ गतेदेखि देशभर एकता सन्देश सभाहरू आयोजना गरिने जनाइएको छ। सो अभियानको पहिलो कार्यक्रम सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंसिर १२ गते हुने छ।
धनगढी रंङ्गशालामा दिउँसो १२:३० बजे हुने सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, साथै अन्य शीर्ष नेताहरू सम्बोधन गर्ने कार्यक्रम छ। पार्टीले सन्देश सभालाई भव्यरूपमा सफल पार्न व्यापक तयारी भइरहेको जनाएको छ।
यसैक्रममा, मंसिर ६ गते धनगढीमा सम्पन्न पार्टी तथा जनसंगठनका नेताहरूको भेलाबाट डा. भीम रावलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको घोषणा गरिएको छ। सभाका विभिन्न व्यवस्था सम्हाल्न १३ उपसमितिहरू बनाएर प्रचार–प्रसार, मंच, सुरक्षा, आवागमन, आर्थिक व्यवस्था, भौतिक तयारी लगायतका जिम्मेवारी तोकिएको छ।
पत्रकार सम्मेलनमा पार्टीले नेपाल अहिले जटिल तथा तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रिय हित, स्वाधीनता, सार्वभौमिकता र समृद्धिका लागि वाम–प्रगतिशील तथा देशभक्त शक्तिहरूको एकता समयको माग भएको धारणा व्यक्त गर्यो।
आगामी फागुन २१ गते हुने आम निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्नु सरकारको दायित्व भएको पार्टीको भनाइ छ। विशेषगरी अन्तरिम सरकारले भदौ २३ र २४ का दिन गरेका गतिविधि संविधान र निर्वाचन व्यवस्थापनको मर्मविपरीत भएको आरोप लगाउँदै पार्टीले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ।
पत्रकार सम्मेलनमा नेता डा. भीम रावलले पार्टी ताजा जनादेशका लागि पूर्ण रूपमा तयार अवस्थामा रहेको बताए। उनले भने “फागुन २१ गतेको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार उत्तरदायी हुनुपर्छ। अहिले पनि फरार कैदीहरू सम्पर्कमा छैनन्, बरामद हुनुपर्ने हतियार नियन्त्रणमा आएका छैनन्। यस्तो अवस्थामा निर्वाचनको वातावरण अझै बनेको छैन।”
उनका अनुसार भदौ २३–२४ का घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा जिम्मेवार छन्, र सो घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग उनले दोहोर्याए। सातवटा अपराध दावी खेपिरहेको व्यक्तिलाई एमालेले नेसनल भोलिन्टियर फोर्सको संयोजक बनाएको भन्दै उनले आलोचना पनि गरे।
एमालेभित्र गम्भीर असन्तोष र आन्तरिक विवाद रहेको दाबी गर्दै रावलले “ठूलो पङ्क्ति नेकपामा प्रवेश गर्ने तयारीमा छ” भने।
पार्टीले धनगढीमा हुने सन्देश सभामा सहभागीहरूका लागि स्थल व्यवस्थाको विवरण पनि सार्वजनिक गरेको छ—क्याम्पस रोड हुँदै आउनेहरू — क्याम्पस रोड चोकमा
अन्य क्षेत्रबाट आउनेहरू — चौराहा क्षेत्र
भेला समय — बिहान ११:३० बजे
जुलुस — पार्क मोड हुँदै रंङ्गशाला
आमसभा — दिउँसो १२:३० बजे, रंङ्गशालाको दक्षिणी चौरमा
प्रदेशस्तरीय कार्यक्रमपछि मंसिर महिनाभर प्रदेशका सबै जिल्ला, पालिका र वडास्तरमा पनि एकता सन्देश सभाहरू सञ्चालन गरिने पार्टीले जनाएको छ।
