हेमा भट्ट
कैलाली – गाेदावरी नगरपालिका–११, ओलानी — लैङ्गिक आधारित हिंसाको रोकथाम, सचेतना अभिवृद्धि र समुदायमा सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यका साथ विकासका लागि युवा ऐक्यबद्धता (YARD) द्वारा आयोजना र KNH को आर्थिक सहयोगमा सञ्चालित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गतको विशेष कार्यक्रम कृष्णपुर नगरपालिका–११, ओलानीमा शनिबार सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता सामाजिक सहजकर्ता लक्ष्मी ओड (YARD) ले गरेकी थिइन्। उनले YARD ले विगतदेखि नै समुदायमा लैङ्गिक समानता, महिला सशक्तिकरण र किशोरी–युवाहरूको क्षमतावृद्धिका लागि निरन्तर काम गरिरहेको बताइन्।


कार्यक्रममा वडा अध्यक्ष प्रेमसिंह बडैला प्रमुख अतिथिका रूपमा उपस्थित हुँदा उनले लैङ्गिक हिंसा कुनै एक व्यक्ति वा घरपरिवारको समस्या नभई सम्पूर्ण समाजको चुनौती भएको उल्लेख गर्दै “अभियानमार्फत प्राप्त ज्ञान व्यवहारमा लागू गर्न सकेमा हिंसा रोकथामको दिशा बलियो बन्छ,” भनेर आह्वान गरे।
त्यसैगरी, विशिष्ट अतिथिका रूपमा सामाजिक अभियन्ता तथा पूर्व वडा अध्यक्ष शिवबहादुर विक उपस्थित थिए। उनले स्थानीय तह, विद्यालय, समुदाय र युवाहरू मिलेर अघि बढेमा लैङ्गिक हिंसाका घटनाहरू न्यूनिकरण गर्न प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गरे।


कार्यक्रममा सहभागी वडा सदस्य गङ्गा खड्काले महिलामाथि हुने विभिन्न प्रकारका हिंसाको पहिचान तथा समयमै उजुरीको प्रक्रियाबारे चेतना वृद्धिले पीडितलाई न्याय प्राप्तिमा सहयोग पुग्ने बताइन्।
यस्तै ओलानी अस्थायी प्रहरी विटका इन्चार्ज केशवबहादुर साउँदले प्रहरी प्रशासनले हिंसा सम्बन्धी उजुरीमा शून्य सहनशीलताको नीति अपनाइरहेको उल्लेख गर्दै हिंसाका घटनामा ढिला नगरी सूचनाको आदान–प्रदान गर्न आग्रह गरे।


कार्यक्रमको सञ्चालन लक्ष्मी विक ले गरेकी थिइन्। उनले सामाजिक रूपमा मौनता तोडेर हिंसाविरुद्ध बोल्ने संस्कृतिनै सबैभन्दा महत्वपूर्ण कदम भएको भन्दै समुदायको भूमिकालाई विशेष जोड दिइन्।
१६ दिने अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रममा लैङ्गिक हिंसाका रूप र चिनारी, नेपाल सरकारले प्रदान गरेका कानुनी प्रावधान, हिंसा रोकथामका उपाय, किशोरी–युवाहरूको नेतृत्वदक्षता, सुरक्षित समुदाय निर्माणका उपाय तथा हेल्पलाइन सेवा बारे विस्तृत रूपमा जानकारी प्रदान गरिएको YARD ले जानकारी दिएको छ। विभिन्न समूह–चर्चा, अनुभव–विनिमय तथा प्रतिबद्धता घोषणा मार्फत सहभागीहरूले हिंसा विरुद्ध एकजुट भएर काम गर्ने प्रतिज्ञा गरेका छन्।
अभियानले स्थानीयस्तरमा लैङ्गिक हिंसाप्रति सचेतना बढाउँदै समुदायमै सकारात्मक परिवर्तनको वातावरण निर्माण गरेको आयोजक संस्थाले जनाएको छ।





