हेमा भट्ट, १८ मंसिर
कञ्चनपुर — कञ्चनपुर जिल्ला ट्राफिक कार्यालयले बिहीबार महेन्द्रनगर बसपार्क क्षेत्रमा सवारी चालकहरूलाई लक्षित सवारी सुरक्षा जनचेतनामूलक विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रशिक्षण प्र. ना. नी. प्रकाश दत्त जोशीले दिएका थिए।

महेन्द्रनगर क्षेत्रका बस, टेम्पु, माइक्रोबस, अटो तथा अन्य सार्वजनिक सवारी चालकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा ओभरस्पिडिङ, मदिरापानपछि सवारी चलाउने, मोबाइल प्रयोग, अनुचित ओभरटेक जस्ता जोखिमपूर्ण व्यवहारबारे विस्तृत रूपमा जानकारी दिइयो।

जोशीका अनुसार पछिल्लो समय हुने दुर्घटनाहरूमा चालकको लापरवाही र नियमप्रतिको बेवास्ता प्रमुख कारणका रूपमा देखिएका छन्। उहाँले “नियमित सेवा—सुरक्षित यात्रा” अभियानमा सहभागी हुँदै यात्रु सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरे।

कार्यक्रममा चालकहरूले आफ्ना अनुभव र सडकमा देखिने समस्या खुला रूपमा राखेका थिए। ट्राफिक अधिकृत तथा सुरक्षाकर्मीहरूको विशेष उपस्थिति रहेको कार्यक्रमबाट सवारी सुरक्षाबारे सकारात्मक सन्देश प्रवाह भएको जनाइएको छ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा अन्य स्थानहरूमा पनि निरन्तर चलाइने छन्, जसले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
