हेमा भट्ट, २२ मंसिर २०८२
कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित कञ्चन माध्यमिक विद्यालयमा पुस ५ देखि ७ गतेसम्म आयोजना हुन लागेको १६औँ राष्ट्रपति रनिङ शिल्ड अन्तर–विद्यालय खेल प्रतियोगिता–२०८२ का तयारी अन्तिम चरणमा पुगेका छन्। तीन दिनसम्म चल्ने प्रतियोगितामा नगरपालिका क्षेत्रका २७ विद्यालयका करिब १५ सय विद्यार्थी सहभागी हुनेछन्। जस् मध्ये संस्थागत विद्यालय – १४ र सामुदायिक विद्यालय – १३ रहनेछन् ।


विद्यालयका प्रअ कर्म राज चौधरीका अनुसार मैदान समतलीकरण, दौड ट्रयाक मार्किङ, खेल मैदान तथा कोर्ट मर्मत, सुरक्षा बार निर्माण, पानी–प्रसाधन व्यवस्था र आकस्मिक कक्ष तयारीलगायतका सबै पूर्वाधार निर्माण समयमा नै पूरा गरिनेछन् । खेल सामग्री परीक्षण तथा सहभागी विद्यार्थीहरूको अभ्यास पनि जारी रहेको बताइएको छ।
प्रतियोगिता व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि गौरालको संयोजकत्वमा २५ सदस्यीय आयोजक समिति गठन गरिएको छ। गौरालका अनुसार प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकाससँगै युवा प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।


यस वर्षको प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कबड्डी, तेक्वान्दो, कराते, उस्सु गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट खेलाडी, विद्यालय तथा टोलीलाई ट्रफी, प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरिने सहयोग समन्वय समितिले जनाएको छ।
मुख्य अतिथि तथा नगरप्रमुख हेमराज ओझाले खेलकुदलाई विद्यालय शिक्षाको अभिन्न हिस्सा भएको उल्लेख गर्दै खेलमैत्री संरचना विस्तारमा नगरपालिका निरन्तर सक्रिय रहेको बताए। उपप्रमुख द्रोपती रानाले विद्यालय–समुदाय सहकार्यले युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने बताइन्।


आयोजनास्थल वडा नं. ७ का अध्यक्ष घुम्न रानाले सुरक्षादेखि मैदान व्यवस्थापनसम्म वडाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वडा नं. ८ का अध्यक्ष दिनेश खड्काले खेलकुदले युवामा अनुशासन र नेतृत्व विकासमा योगदान पुर्याउने भएकाले सबै पक्ष एकजुट भएर लाग्नुपर्ने धारणा राखे।
समाजसेवी विष्णु खड्काले आगन्तुक व्यवस्थापन, खेलाडी संरक्षण र सरसफाइमा पर्याप्त समन्वय आवश्यक हुने बताए। द युनिटी युवा क्लबका अध्यक्ष विक्की ऐरले युवाको सक्रियताले कार्यक्रम सफल र अनुकरणीय बन्ने विश्वास व्यक्त गरे। सुधार महिला समूहकी अध्यक्ष भूमि चौधरीले सरसफाइ तथा स्वच्छ वातावरण व्यवस्थापनमा समूह अग्रसर रहेको जानकारी दिइन्।


स्वास्थ्य र सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मी, फर्स्ट–एड टोली, स्वयंसेवक र प्रहरीको समन्वयमा आकस्मिक सेवा व्यवस्थापन मिलाइएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार राष्ट्रपति रनिङ शिल्ड–२०८२ ले कृष्णपुर नगरपालिका र स्थानीय विद्यालयहरूको खेल इतिहासमा नयाँ आयाम थप्नेछ। समुदाय, विद्यालय, जनप्रतिनिधि र युवाको सहकार्यमा कार्यक्रम भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।









