मंसिर २४
घोडाघोडी–०६, कैलाली — जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यका परिवारलाई बीमाबापतको सहयोग हस्तान्तरण गरेको छ। संस्थाका सदस्य श्री बिस्ना दमाईका श्रीमान् स्व. अम्मर सिंह दमाईको २०८२ भदौ २६ गते असामयिक निधन भएपछि संस्थाले कर्जा मिनाहा गर्दै बीमा रकम उपलब्ध गराएको हो।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समार्फत संस्थाले रु. ७०,००० बीमाबापत तथा रु. १५,000 काजक्रिया खर्च गरी कुल रु. ८५,००० पीडित परिवारलाई हस्तान्तरण गरिएको जनाइएको छ। रकम हस्तान्तरण कार्यक्रमका लागि संस्थाको इलाका सञ्चालन कार्यालय कोटातुल्सीपुरका आ.ले.प. अनिल शाही र शाखाका कर्मचारीहरू मृतकको घरमै पुगेका थिए।

कार्यक्रममा बैंकिङ समुदायका प्रतिनिधि, स्थानीयवासी तथा कर्मचारीसहित झण्डै १५ जनाको उपस्थिति थियो। कार्यक्रम कोटातुल्सीपुर शाखाका शाखा सञ्चालन अधिकृत सुरज बि.क. ले सञ्चालन गरेका थिए।
सो अवसरमा जनउत्थान सामुदायिक लघुबित्तले बचत–कर्जा सेवासँगै सीप विकास तालिम, ग्राहक संरक्षण कोषमार्फत सुविधा, सामाजिक उत्तरदायित्व कार्यक्रम तथा आकस्मिक जोखिम व्यवस्थापनजस्ता गतिविधि निरन्तर गर्दै आएको जानकारी गराइयो। संस्थाका अनुसार, कर्जा लिएका सदस्यको मृत्यु भएमा परिवारलाई आर्थिक बोझ नपरोस् भन्ने उद्देश्यले बीमा सुविधा अनिवार्य रूपमा व्यवस्था गरिएको हो।
जनउत्थान सामुदायिक लघुबित्तको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ र हाल संस्था १९ जिल्लामा ३९ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

