हेमा भट्ट, कञ्चनपुर — २४ मंसिर २०८२
कञ्चनपुरमा बालविवाह अन्त्यका लागि सञ्चालन भइरहेका कार्यहरूलाई अझ प्रभावकारी र समन्वित बनाउने उद्देश्यले जिल्ला परियोजना सल्लाहकार समिति बैठक मङ्सिर २४ गते महेन्द्रनगरस्थित चेतन होटलमा सम्पन्न भएको छ। प्लान इन्टरनेश्नल नेपाल र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान)को सहकार्यमा सञ्चालित “सबल बालिका, सबल समुदाय” कार्यक्रमअन्तर्गतको उत्थानशील भविष्यका लागि बालविवाह अन्त्य (Resilient Future Ending Child Marriage) परियोजनाको प्रगतिबारे समग्र समीक्षा र आगामी कार्यदिशा बैठकको मुख्य एजेन्डा रहेको थियो।
जिल्ला समन्वय समिति कार्यालय कञ्चनपुरकी निमित्त जिल्ला समन्वय अधिकारी सरिता देवी पन्थीले जारी गरेको सूचनाअनुसार बैठक बिहान ९:३० देखि दिउँसो १ बजेसम्म सञ्चालन भएको हो। बैठकमा सन् २०२५ जुलाई १ देखि भिमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकामा परियोजनाद्वारा सञ्चालित गतिविधिहरू, प्राप्त उपलब्धि, चुनौती तथा सिकाइबारे विस्तृत प्रस्तुति सहित छलफल गरिएको थियो।
परियोजनाले कञ्चनपुरका दुई स्थानीय तहमा बालविवाहका जोखिम नियन्त्रण, किशोरी तथा अभिभावक सचेतना वृद्धि, विद्यालय–समुदाय समन्वय सुदृढीकरण, तथा जोखिमयुक्त परिवार पहिचान र सहयोग प्रणाली व्यवस्थापनलाई मुख्य लक्ष्य बनाउँदै आएको छ। बैठकमा यी गतिविधिको प्रभाव मूल्यांकन, अझ व्यापक समन्वय आवश्यकताको पहिचान, तथा आगामी महिनाहरूमा कार्यान्वयनलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा सरोकारवालाबीच गहन बहस भएको थियो।
समुदायमा किशोरी समूह सशक्तीकरण, अभिभावक परामर्श सत्र, विद्यालयस्तरीय बाल संरक्षण समिति सक्रियता, र व्यवहार परिर्वतनका लागि सञ्चार गतिविधि सञ्चालन हुँदै आएको परियोजनाले बालविवाह नियन्त्रणमा सकारात्मक प्रभाव देखिन थालेको सरोकारवालाहरूको अभिमत रहेको छ। तर आर्थिक समस्या, सामाजिक परम्परा, तथा सीमा क्षेत्रमा हुने आवत–जावतका कारण अझै धेरै चुनौती बाँकी रहेको बैठकमा सहभागी निकायहरूले बताएका छन्।
बैठकमा पत्रकार महासंघ कञ्चनपुर, स्थानीय तहका जनप्रतिनिधि, शिक्षा–स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका शाखा, सुरक्षा निकाय, तथा बालअधिकार क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको सक्रिय उपस्थिति थियो। सहभागीहरूले परियोजना प्रभावकारी सञ्चालनका लागि व्यवहारिक सुझाव, नीतिगत सहयोग, तथा समन्वय सुदृढीकरणका लागि महत्वपूर्ण बुँदाहरू प्रस्तुत गरेका थिए।
सहभागीहरूका लागि खाजा तथा भोजनको व्यवस्था गरिएको बैठकमा समुदायका महिलाहरू, किशोरीहरू तथा परियोजनाका प्रत्यक्ष लाभार्थीहरूको आवाज समेत समेटिएको थियो।
जिल्ला समन्वय समितिका अनुसार, बैठकमार्फत आगामी महिनाहरूमा बालविवाह अन्त्य कार्यक्रमलाई थप योजनाबद्ध, समन्वित र परिणाममुखी ढङ्गले अघि बढाउने मार्ग–निर्देशन मिलेको छ।
