उदय माविमा बाल–लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका–२ स्थित श्री उदय माध्यमिक विद्यालयमा बाल–लैंगिक तथा अपाङ्गमैत्री सुविधा सम्पन्न शौचालय निर्माण तथा पुरानो संरचना मर्मत सम्पन्न गरी मंसिर २५ गते विद्यालयलाई हस्तान्तरण गरिएको छ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुरले ‘किशोरी समृद्धिका लागि B4G परियोजना’ अन्तर्गत एक–कोठे नयाँ शौचालय निर्माण र दुई–कोठे शौचालय मर्मत गरेका हुन्। परियोजना अनुसार कुल रु. ८,८६,००० खर्च भएको छ।

शौचालयको उद्घाटन वडा अध्यक्ष अर्जुन साउदले रिबन काटेर गरे। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र पाल, वर्ल्ड भिजनका पोषण संयोजक छत्रराज भट्ट, NNSWA कार्य संयोजक रामेश्वर जैरु, प्रधानाध्यापक बम्मन राना, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उपस्थिति थियो।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउदले विद्यालयमा भौतिक पूर्वाधार विस्तार भइरहेको उल्लेख गर्दै पिउने पानीको चुनौती छिट्टै समाधान गर्न नगरपालिकाले पहल गर्ने बताए। उनले संरचना संरक्षणमा विद्यालय जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

वर्ल्ड भिजनका प्रतिनिधि भट्टले शौचालयले किशोरी स्वास्थ्य, महिनावारी स्वच्छता, गोपनीयता तथा अपाङ्ग विद्यार्थीका लागि सहज पहुँच सुनिश्चित गर्ने बताए। NNSWA का जैरुले संरचना दिगो बनाउन विद्यालय–समुदाय दुवै सक्रिय हुनुपर्ने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पालले नवनिर्मित शौचालयले विद्यार्थी, विशेषगरी किशोरी र अपाङ्गता भएका बालबालिकामा ठूलो राहत पुगेको बताए। स्थानीय अभिभावकले पनि विद्यालयको वातावरण सुरक्षित र स्वास्थ्यकर बनेको प्रतिक्रिया दिए।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक गणेश सार्कीले प्रस्तुत गरेका थिए।
सञ्चालन उदय बाल क्लबका अध्यक्ष बासुदेव पाण्डेले गरे।

परियोजनाले समावेशी, सुरक्षित र विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माणमा यस संरचनाले महत्वपूर्ण योगदान गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply