धनबहादुर बिक, पुनर्वास — मंसिर २५
अएक सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पुनर्वास–६ को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पुनर्वास नगरपालिका–६ स्थित सभाहलमा आयोजित साधारणसभामा संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूको उपस्थितिमा वार्षिक प्रतिवेदन, आय–व्यय तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गरिएको थियो।
कार्यक्रम संस्था अध्यक्ष तिल प्रसाद तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामा प्रमुख अतिथि रहेका थिए। विशेष अतिथि रूपमा पुनर्वास नगरपालिका प्रशासकीय अधिकृत तथा सहकारी विभाग प्रमुख धौलराम सार्की, अतिथि रूपमा वडा सदस्य ठाकुर प्रसाद शर्मा, पुनर्वास पूर्व स्रोत व्यक्ति बिष्णुभक्त पौडेललगायतको उपस्थिति रहेको थियो।
वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्दै लेखा संयोजक सितन बिकले आर्थिक वर्ष ०८१/८२ मा संस्थाले कुल १ करोड २० लाख ७४ हजार ३० रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिइन्।
अध्यक्ष तामाङले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहकारीमा २० जना अपांग, २२ जना महिला, १ जना कुष्ठरोगी, ७२ जना सीमाङ्कित तथा ७२ अन्य गरी कुल १८७ सदस्य रहेका छन्। तीमध्ये ३७ पुरुष र १५० महिला सदस्य रहेका छन्।
अतिथि बिष्णुभक्त पौडेलले सहकारीले शारीरिक रूपमा फरक क्षमताका सदस्यहरूको सक्रिय सहभागिताबाट सानो बचतलाई एक करोड बराबरको कारोबारमा रुपान्तरण गर्न सफल भएको प्रशंसायोग्य कार्य भएको बताए।
प्रतिवेदनमा उल्लेख भएअनुसार अएक सहकारीको स्थापना ९ वर्षअघि द लेप्रोसी मिशन नेपालले ११ लाख रुपैयाँ बीउ पुँजीसहित चार समूह संयोजन गरी सहकारीमा रूपान्तरण गरेपछि भएको हो।
सहकारीले आयआर्जन थप सुदृढ बनाउन यस वर्षदेखि बंगुर पालन कार्यक्रम पनि सुरुआत गरेको छ।
सहकारी विभाग प्रमुख धौलराम सार्कीले सहकारीको उन्नति–प्रगतिका लागि नगरपालिका सदैव सहयोग गर्न तयार रहने प्रतिबद्धता जनाए। उनले सहकारीलाई टेवा दिने गैरसरकारी संस्थाको भूमिका महत्त्वपूर्ण भए पनि दीगो प्रगतिका लागि सेयर सदस्यहरू नै सक्रिय बन्नुपर्ने सुझाव दिए।
प्रमुख अतिथि मित्र सिंह लामाले अएक सहकारी पुनर्वासका अन्य सहकारीभन्दा विशिष्ट र सामाजिक रूपमै महत्वपूर्ण रहेको उल्लेख गर्दै शारीरिक रूपमा असक्षम, एकल महिला तथा कुष्ठरोगी सदस्यहरूको प्रतिनिधित्वबाट बनेको सहकारीले पुनर्वासमा छुट्टै पहिचान बनाउन सफल होस् भन्ने शुभकामना व्यक्त गरे। उनले वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिवद्धता पनि दोहोर्याए। कार्यक्रमको सञ्चालन सचिव मनबहादुर गुरूङले गरेका थिए।

