गौरा देवी सामुदायिक वनको १५औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, २७ मंसिर
कञ्चनपुर — कृष्णपुर नगरपालिका–९, राजघाटस्थित गौरा देवी सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारणसभा मिति २०८२/०८/२७ गते सामुदायिक वनको आफ्नै भवनमा सम्पन्न भएको छ।

सामुदायिक वनका अध्यक्ष सुरेश बलायरको अध्यक्षतामा सम्पन्न सभामा कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायर प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी ब्यानर वाचनसहित कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

सभामा डिभिजन वन कार्यालय पिपरियाका प्रमुख अधिकृत मणिदत्त भट्ट, महाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा CFFSC कञ्चनपुरका सचिव वीरबहादुर राजवंशी, समाजसेवी प्रेम बलायर, शिक्षक तथा समाजसेवी बासुदेव जोशी, सब–डिभिजन वन कार्यालय पिपरियाका वन प्राविधिक हरि सार्की, सीता सामुदायिक वनका उपाध्यक्ष जितबहादुर बोहरा, वनदेवी सामुदायिक वनकी कोषाध्यक्ष निर्मला नेपाली, एकता सामुदायिक वनकी कोषाध्यक्ष रबिना चौधरी, महाकाली सामुदायिक वनकी सचिव रमिता नेगी, जानकी सामुदायिक वनकी कोषाध्यक्ष पार्वती चौधरी, समाजसेवी, बुद्धिजीवी, युवा, शिक्षक, पत्रकारलगायत उपभोक्ताको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथि वीरबहादुर राजवंशीले सामुदायिक वनको जिम्मेवारी, चुनौती र सहजीकरणका विषयमा धारणा राख्दै विधान, नियम र बचत व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले दिगो वन व्यवस्थापन वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै नियम पालना र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए।

डिभिजन वन कार्यालय पिपरियाका प्रमुख अधिकृत मणिदत्त भट्टले सामुदायिक वनहरू पहिले सीमित व्यक्तिको नियन्त्रणमा रहे पनि अहिले उपभोक्ता जनताको साझा जिम्मेवारीबाट व्यवस्थित रूपमा सञ्चालन हुँदै गएको बताए। उनले सामुदायिक वनसँग कार्यालय सधैं सहकार्य र सहयोगका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

शिक्षक तथा समाजसेवी बासुदेव जोशीले धन्यवाद मन्तव्य व्यक्त गर्दै सामुदायिक वनले ल्याएका ऐन, नियम र योजनालाई समयसापेक्ष रूपमा कार्यान्वयन गर्न सुझाव दिए।

युवा समाजसेवी उमेश केसीले सामुदायिक वनले स्थानीय गरिब तथा पीडित समुदायका लागि रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। गरिबीका कारण दाउरा र कोइला बेचेर गुजारा चलाइरहेका उपभोक्ताका लागि वैकल्पिक आयआर्जनका कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै अन्य सामुदायिक वनहरू जस्तै गौरा देवी सामुदायिक वनले पनि फड्को मार्नुपर्ने धारणा राखे। उनले आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए।

युवा विद्यार्थी तथा समाजसेवी बिमला केसीले वनदेवी सामुदायिक वनमा कम्प्युटर कक्षा, दुना–टपरी उद्योग, सीता सामुदायिक वनमा विभिन्न रोजगारीमूलक कार्यक्रम सञ्चालन भइरहेको उदाहरण दिँदै गौरा देवी सामुदायिक वनले पनि यस्ता सिर्जनशील कार्यक्रम अघि बढाउन सुझाव दिइन्।

प्रमुख अतिथि तथा वडा अध्यक्ष कैलाश बलायरले सामुदायिक वनको साधारणसभामा आएका सुझावहरू अत्यन्तै सान्दर्भिक रहेको बताए। उनले सामुदायिक वनको भवन निर्माणलाई ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्दै बजेट अभाव, जेन–जी आन्दोलनलगायत कारणले केही योजना प्रभावित भए पनि वडाले कालोपत्रे, खानेपानी लगायतका विकास कार्यक्रम कुनै स्वार्थ नराखी अघि बढाइरहेको बताए।

सामुदायिक वनका अध्यक्ष सुरेश बलायरले आफ्नो कार्यकालमा सामुदायिक वनको भवन निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै इच्छाशक्ति भए विकास सम्भव हुने बताए। हालसम्म आफ्नो कार्यकाल दुई वर्ष मात्र पुगेको र गरेका काम उपभोक्ताले प्रत्यक्ष अनुभूति गर्न पाएको उल्लेख गरे। विगतमा पटक–पटक समिति परिवर्तन भए पनि भवन निर्माण हुन नसक्नुको कारणबारे स्थानीय उपभोक्ताले मूल्यांकन गर्नुपर्ने धारणा राख्दै आफू निस्वार्थ र इमान्दारीपूर्वक काम गरिरहेको र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले सामुदायिक वनको विकास स्थानीय उपभोक्ताको साझा जिम्मेवारी भएको भन्दै सबैले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सामुदायिक वनकी कोषाध्यक्ष राधा पनेरुले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै कुल १९ लाख ५६ हजार ६ सय ८९ रुपैयाँ रहेको जानकारी दिइन्। यस्तै, सचिव सिन्धु सिंहले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ लाख ९३ हजार ७ सय ५० रुपैयाँको अनुमानित बजेट प्रस्ताव प्रस्तुत गरिन्।

गौरा देवी सामुदायिक वन १७७.२९ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने यसमा ३६५ उपभोक्ता आबद्ध छन्। कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक वनकी सिन्धु मल्लले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन समाजसेवी तथा बुद्धिजीवी शिक्षक चन्द्रबहादुर महराले सान्दर्भिक र व्यवस्थित ढंगले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply