हेमा भट्ट, २८ मंसिर २०८२
कञ्चनपुर — कञ्चनपुर क्षेत्र नम्बर–१ का महाधिवेशन प्रतिनिधि तथा युवा नेता मदन राज उपाध्यायले ‘जनमनमा कांग्रेस, घरघरमा कांग्रेस’ अभियानअन्तर्गत क्षेत्रका चारवटै पालिकाका ३२ वडामा पैदल यात्रा गर्ने घोषणा गर्नुभएको छ।
शुक्रबार पुनर्वास नगरपालिका–११, डोकेबजारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जेनजी आन्दोलनपछि देखिएको बदलिँदो राजनीतिक तथा मनोसामाजिक परिवेशमा जनतासँग प्रत्यक्ष संवाद आवश्यक भएको बताउनुभयो।
युवामा बढ्दो निराशाबीच आशाका सम्भावना खोज्दै जनताको घर–आँगनमै पुगेर आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषि र रोजगारीको वास्तविक अवस्था बुझ्ने उद्देश्यसहित अभियान अघि बढाइएको उहाँको भनाइ छ। “राजनीति मिडिया ट्रायल होइन, जनतासँगै हिँड्ने नीति हो,” भन्दै उहाँले अभियान कुनै पद वा व्यक्तिगत प्रभावका लागि नभई जनताका समस्या बुझ्ने र समाधान खोज्ने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट पार्नुभयो।
पत्रकार सम्मेलनमा उपाध्यायले कञ्चनपुर–१ लाई कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धिको ‘हब’ बनाउने दृष्टिकोण प्रस्तुत गर्नुभयो। क्षेत्रको पर्यावरण, जंगल, ताल–तालाउ, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर आम्दानी बढाउन सकिने सम्भावनामा उहाँले जोड दिनुभयो। गेटा विमानस्थलसँग क्षेत्रीय पर्यटनलाई जोड्न सामूहिक संकल्प आवश्यक रहेको उहाँको धारणा थियो।
कृषिमा आधुनिक प्रविधि, सिँचाइ, बजार पहुँच, सहकारी प्रणाली र चिस्यान भण्डारणको अभाव औंल्याउँदै उहाँले धान, गहुँ, मकै, तरकारी, फलफूल तथा पशुपालनमा ठूलो सम्भावना रहेको बताउनुभयो। युवाको वैदेशिक पलायन रोक्न उद्यमशीलता, सीप, लगानी र नीतिगत सहयोग सुदृढ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले जेष्ठ नागरिक, महिला, दलित, आदिवासी तथा विपन्न वर्गका लागि सम्मान र सेवामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै शिक्षामा गुणस्तर सुधार, स्वास्थ्य सेवामा जनशक्ति तथा उपकरणको अभिवृद्धि, खानेपानी, सिँचाइ, सडक, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
अन्त्यमा उपाध्यायले सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्वमार्फत दीगो विकास सम्भव हुने विश्वास व्यक्त गर्दै अभियानलाई प्रभावकारी बनाउन पत्रकार तथा नागरिक समाजको साथ र सुझावको अपेक्षा गर्नुभयो।
