हेमा भट्ट, पुस ४
कञ्चनपुर — राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूको उत्साह बढाउन कञ्चनपुरमा विभिन्न व्यक्तित्व तथा संस्थाहरूले खेल सामग्री तथा ड्रेस सहयोग गरेका छन् ।
खेलकुद विकासप्रति चासो राख्दै कृष्णपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष खेम चौधरी, लालझाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पहल थापा, बैजनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुन्दर चौधरी तथा अपि सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवान सिंह धामीको पहलमा सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो ।

नन्द माध्यमिक विद्यालय, देखतभुलीमा सम्पन्न कार्यक्रममा खेलाडीहरूका लागि आवश्यक खेल सामग्री हस्तान्तरण गरिएको थियो । यस अवसरमा कृष्णपुर नगरपालिका वडा नं. ३ कार्यालयबाट २० थान विभिन्न खेल सामग्री, लालझाडी गाउँपालिका वडा नं. ५ कार्यालयबाट २० थान भेस्टसहित भलिबल सामग्री प्रदान गरिएको जनाइएको छ ।
त्यसैगरी, बैजनाथ सामुदायिक वन उपभोक्ता समितिबाट २३ थान भेस्ट र अपि सामुदायिक वन उपभोक्ता समितिबाट १२ थान भेस्ट खेलाडीहरूलाई वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक तथा लेखापालले समेत व्यक्तिगत तवरबाट १५ थान खेल सामग्री सहयोग गर्दै खेलकुदप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस सहयोगले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी नन्द माविका विद्यार्थी खेलाडीहरूको मनोबल उच्च भएको आयोजकले बताएका छन् । आयोजकले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि यस्ता सहकार्य निरन्तर आवश्यक रहेको उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
