हेमा भट्ट , पुस ४
धनगढी – सुन्दर सुदूरपश्चिम नमुना शहर धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव २०८२ आज १२औँ दिनमा प्रवेश गर्दा पनि जनसागर उस्तै बाक्लो देखिएको छ । दिनप्रतिदिन दर्शकको आकर्षण बढ्दै गएको महोत्सवमा सुदूरपश्चिमका विभिन्न जिल्लासहित देशका अन्य भागबाट आएका सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ ।


महोत्सव स्थलमा प्रवेशदेखि स्टल बजारसम्मको व्यवस्थापन सहज र व्यवस्थित देखिन्छ । फराकिलो र चौडा बाटो, दुबै तर्फ सुसज्जित स्टल तथा पसलहरूका कारण दर्शकहरूलाई हिँडडुल र खरिद–बिक्री गर्न कुनै असहजता छैन । नास्ता, खाजा तथा खानाका स्टलहरूमा गुणस्तरीय सेवा र सरसफाइलाई प्राथमिकता दिइएको छ ।


उद्योग वाणिज्य संघको सक्रियतामा खटिएका गुणस्तर चेकजाँच कर्मचारीहरूको निरन्तर निगरानीमा हरेक खाद्य स्टल सञ्चालनमा छन् । म्याद नाघेका खानेकुरा बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने छड्के अनुगमनलाई थप प्रभावकारी बनाइएको छ, जसले उपभोक्ताको विश्वास अझ मजबुत बनाएको स्थानीयको भनाइ छ ।


महोत्सवमा व्यापारिक स्टलसँगै झुला, मनोरञ्जनात्मक खेल, बालबालिकाका लागि जलपरी (फन पार्क) जस्ता कार्यक्रम समावेश गरिएकाले पारिवारिक दर्शकको संख्या पनि उल्लेख्य देखिन्छ । टिकट काउन्टरदेखि भित्र प्रवेशसम्मको व्यवस्था सरल र छरितो बनाइएको छ ।


आजको दिन विशेषगरी थारू महोत्सवको झल्कोले दर्शकको ध्यान तानेको छ । थारू समुदायका परम्परागत खानाका परिकार, सांस्कृतिक पोशाक, नाचगान र मौलिक कलाले महोत्सवलाई अझ जीवन्त बनाएको छ । स्थानीय तथा बाहिरी कलाकारहरूको प्रस्तुति दर्शकले उत्साहपूर्वक अवलोकन गरेका छन् ।


महोत्सवमा कलाकार, बुद्धिजीवी, शिक्षक, युवा, महिला, विद्यार्थी, किसानदेखि विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरूको उपस्थिति देखिन्छ । विभिन्न संघ–संस्था तथा समुदायका प्रतिनिधिहरू पनि महोत्सव अवलोकनका लागि पुगेका छन् ।


यस अवसरमा सीता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुनाराम चौधरी र वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी समेत स्थानीय युवा, महिला तथा कलाकारहरूसँगै महोत्सव स्थलमा उपस्थित भई कार्यक्रम अवलोकन गरेका छन् । उनीहरूले यस्ता महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति र समुदायबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने बताएका छन् ।
दर्शकहरूको भनाइमा, सुदूरपश्चिम महोत्सव २०८२ केवल मनोरञ्जनको केन्द्र मात्र नभई स्थानीय पहिचान, संस्कृति, व्यापार र पर्यटन प्रवर्द्धनको साझा प्लेटफर्म बन्दै गएको छ । टाढाटाढाबाट आएका दर्शकहरूले पनि व्यवस्थापन, सुरक्षा र कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।


दिनप्रतिदिन बढ्दो उपस्थिति र सकारात्मक प्रतिक्रियाले सुदूरपश्चिम महोत्सव २०८२ सबैको रोजाइमा पर्दै गएको स्पष्ट देखिन्छ ।
आजको महोत्सवमा थारू संस्कृतिको झल्को, विभिन्न किसिमका परम्परागत खानाका परिकार, कलाकारहरूको प्रस्तुति, दर्शकको भीड तथा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी र वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीसहित स्थानीय युवा र महिलाको सहभागिताका दृश्यहरू समेटिएका छन् ।
